झापा : झापामा जंगली हात्ती मृत फेला परेको छ ।
बुद्धशान्ति गाउँपालिका–३ स्थित कालिका सिमसारतर्फ जाने बाटो नजिक डाँडागाउँका लालबहादुर रसाइलीको खेतमा दाह्रा नभएको भाले हात्ती मंगलवार (आज) बिहान मृत अवस्थामा फेला परेको हो।
बस्तीको छेउमै हात्ती मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय बुधवारेको टोली घटनास्थल पुगेपछि डिभिजन वन कार्यालय झापालाई जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
हात्तीको मृत्युको कारण खुल्न बाँकी रहेकाले आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइने वन कार्यालयले जनाएको छ।
यस वर्ष झापामा हात्तीको आक्रमणबाट चार जनाले ज्यान गुमाइसकेका छन्। त्यसमाथि हात्ती नै मृत फेला पर्ने घटनाले मानव र वन्यजन्तु दुवै असुरक्षित बन्दै गएको देखाएको छ।
यसअघि पनि जिल्लामा एक वटा हात्ती मृत फेला परिसकेको डिभिजन वन कार्यालय झापाले जनाएको छ।
स्थानीयवासीका अनुसार हात्ती आवतजावत गर्ने क्षेत्र बस्ती र खेतीयोग्य जमिनसँग जोडिँदै गएपछि जोखिम बढेको छ। संरक्षणका दीर्घकालीन उपाय, चेतनामूलक कार्यक्रम र प्रभावकारी व्यवस्थापन नहुँदा यस्ता घटना दोहोरिन थालेको सरोकारवालाहरूको भनाइ छ।
वन्यजन्तु संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न ठोस नीति, पूर्वसूचना प्रणाली र स्थानीय तहसँगको समन्वय आवश्यक रहेको जनाइएको छ।













Discussion about this post