इटहरी : इटहरीमा विद्यार्थीहरूलाई यातना दिएको भन्दै उपमहानगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीमाथि कुनै पनि किसिमको शारीरिक तथा मानसिक यातना नदिन निर्देशन दिएको छ ।
अनुशासनको नाममा विद्यार्थीको कपाल जबर्जस्ती काट्ने, डर–त्रास देखाउने, मानसिक दबाब सिर्जना गर्ने जस्ता क्रियाकलापबाट बालबालिकामा नकारात्मक मनोवैज्ञानिक असर परेको भन्दै उपमहानगरपालिकामा गुनासो प्राप्त भएपछि निर्देशन दिइएको हो ।
नेपालको संविधानले सुनिश्चित गरेको बालबालिकाको मौलिक हक, बालअधिकार ऐन २०७५ तथा शिक्षा ऐन र नियमावलीमा स्पष्ट रूपमा शारीरिक वा मानसिक यातना निषेध गरिएको स्मरण गराएको छ ।
पत्रमा घर, विद्यालय वा अन्य कुनै स्थानमा बालबालिकामाथि शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन नपाइने व्यवस्था रहेको उल्लेख गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिलाई विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयन गर्न तथा शिक्षक–कर्मचारीहरूलाई बालमैत्री र मर्यादित शिक्षण सिकाइमा समर्पित हुन निर्देशन दिइएको छ ।
विद्यार्थीमाथि कुनै पनि प्रकारको शारीरिक तथा मानसिक हिंसा नहोस् भन्ने उद्देश्यका साथ सबै विद्यालयहरूले आचारसंहिता निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उपमहानगरपालिकाले जनाएको छ ।
निर्देशनको पालना नगरेमा प्रचलित कानुनअनुसार कारबाही हुने नगरपालिकाले जनाएको छ ।














Discussion about this post