इटहरी : मोटरसाइकल दुर्घटनामा नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष एवम् दुहबी जेसीजकी पूर्व अध्यक्ष कञ्चन झा र दुहबी जेसीजका पूर्व अध्यक्ष प्रकाश साहको निधन भएको छ।
सोमवार राति करिब ७ः३० बजे मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित स्वस्तिक जुट मिल अगाडिको भित्री पक्की सडक खण्डमा दुर्घटना भएको हो।
प्रदेश नम्बर १–०२–०४९ प ९२२३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका–५ निवासी ३१ वर्षीय प्रकाश साह र पछाडि सवार विराटनगर महानगरपालिका–१५ निवासी ४० वर्षीया कञ्चन झा गम्भीर घाइते भएका थिए।
दुवै जनाको अनुहार र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याएको केही समयपछि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्।
दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको छ।
घटनास्थल ट्राफिक प्रहरी पोस्ट नेमुवाबाट करिब ४ किलोमिटर पूर्व–उत्तरतर्फ पर्ने स्थानमा रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकलको तीव्र गति दुर्घटनाको सम्भावित कारण रहेको बताइएको छ।
मृतक साह दुहबी जेसीज २०२४ का अध्यक्ष हुन् भने कञ्चन दुहबी जेसीज २०१८ की अध्यक्ष तथा जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष थिइन्।
जेसीज अभियानमा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेका दुवै व्यक्तिको असामयिक निधनको खबरले जेसीज समुदायसहित सम्पूर्ण क्षेत्रलाई मर्माहत बनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post