सोलुखुम्बु : विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वर्ल्ड पिस फोरमले यहाँस्थित पत्तालेमा ‘सगरमाथा–लुम्बिनी जलवायु पहल–२०२६’ को शुभारम्भ गरेको छ ।
नेचासल्यान गाउँपालिकासँगको सहकार्यमा आइतबार सो कार्यक्रम औपचारिक शुभारम्भ गरिएको संस्थाका अध्यक्ष वासु गौतमले जानकारी दिए ।
उनका अनुसार यस पहलअन्तर्गत सन् २०२७ भित्रमा आठ हजार ८४८ बोट फलफूलको बिरुवा जिल्लाको विभिन्न भागमा रोपिने छ ।
वातावरणीय सरसफाइ, वृक्षारोपण तथा जलवायु परिवर्तनसम्बन्धी सामुदायिक सचेतना कार्यक्रम समेटिएको एक वर्षे जलवायु कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ ।
कार्यक्रम नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष वासु गौतमले सन् २०१९ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको दश लाख बिरुवा वृक्षारोपण तथा संरक्षण पहलमार्फत वातावरण संरक्षण र जलवायु सन्तुलनका लागि दीर्घकालीन दृष्टिकोणका साथ काम गर्दै आएको उल्लेख गरे ।
फोरमका अनुसार सन् २०१९ यता देशभर दुई लाखभन्दा बढी फलफूलका बिरुवा रोपण भइसकेको छ ।
संस्थाले सन् २०३० सम्म १० लाख बिरुवा रोपण तथा संरक्षण गर्ने लक्ष्य लिएको जनाएको छ । जसले संयुक्त राष्ट्रसङ्घीय सत विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय प्रयासलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
यसै पहलअन्तर्गत आगामी फेब्रुअरी २ मा विश्व सिमसार दिवसको अवसर पारेर लुम्बिनीमा पनि समान प्रकृतिको वृक्षारोपण तथा वातावरणीय सचेतना कार्यक्रम आयोजना गरिने जनाइएको छ ।














Discussion about this post