धरान : पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस अन्तर्गत सिभिल इन्जिनियरिङ विद्यार्थी समाज (सिईएसएस)को आयोजनामा सिभिल इन्जिनियरिङ विद्यार्थीहरूलाई लक्षित तीनदिने प्राविधिक तथा शैक्षिक मेला ‘निर्माण २.०’ सञ्चालन हुने भएको छ।
माघ २३, २४ र २५ गतेसम्म सञ्चालन हुने उक्त मेलामा २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहनेछ।
आयोजकका अध्यक्ष अभिनास राईका अनुसार निर्माण २.० सिभिल इन्जिनियरिङ विद्यार्थीहरूका लागि हालसम्मकै सबैभन्दा ठूलो प्राविधिक कार्यक्रम हो।
मेलाभित्र अटो क्याड, इट्याब्स, सर्भेक्षण, पेसिङ, कागजी पुल निर्माण, आइसक्रिम स्टिकबाट पुल निर्माण लगायत १० भन्दा बढी प्राविधिक तथा सिर्जनात्मक प्रतियोगिताहरू आयोजना गरिने उनले बताए।
कार्यक्रममा ६ भन्दा बढी इन्जिनियरिङ क्याम्पसहरूको सहभागिता रहनेछ। यसले विद्यार्थीहरूबीच प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै सहकार्य र अनुभव आदान–प्रदानको अवसर प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ।
निर्माण २.० को मुख्य उद्देश्य सिभिल इन्जिनियरिङका विद्यार्थीहरूले कक्षाकोठामा आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक सीपमा रूपान्तरण गर्नु रहेको छ।
कागजी पुल तथा आइसक्रिम स्टिकबाट पुल निर्माण जस्ता प्रतियोगिताले संरचनागत बुझाइ र नवप्रवर्तनशील सोच अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ भने अटो क्याड र इट्याब्स प्रतियोगिताले कम्प्युटर आधारित नक्सा निर्माण तथा विश्लेषण क्षमतामा सुधार ल्याउने विश्वास गरिएको छ।
आयोजकका अनुसार कार्यक्रम अवधिभर १० हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहभागी हुने अनुमान गरिएको छ।
निर्माण २.० ले भावी सिभिल इन्जिनियरहरूलाई व्यवहारिक, सिर्जनशील तथा उद्योग–उन्मुख बनाउने लक्ष्य लिएको सिईएसएसले जनाएको छ।














Discussion about this post