झापा : झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर विमानस्थलबाट १४४ ग्राम ४०० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित एक जना तथा कारोबारमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
भद्रपुर विमानस्थलको सुरक्षा जाँचमा खटिएको प्रहरी टोलीले भद्रपुरबाट काठमाडौँ जान लागेकी हुम्लाको खार्पुनाथ गाउँपालिका–२ निवासी २६ वर्षीया रोशनी बुढालाई चेकजाँचका क्रममा ब्राउनसुगरसहित पक्राउ गरेको हो।
ब्राउनसुगरसहित पक्राउ परेकी उनीसँग गरिएको सोधपुछ तथा अनुसन्धानका क्रममा लागूऔषध कारोबारमा संलग्न अन्य व्यक्ति काठमाडौँमा रहेको खुल्न आएपछि लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौँबाट खटिएको प्रहरी टोलीले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–६ बाट थप दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ निवासी ३० वर्षीय सन्तोष बञ्जारा र रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–५ निवासी २१ वर्षीय थोमस तामाङ रहेका छन्।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post