इटहरी : बुधबार दिउँसो झापामा टिपरसँग मोटरसाइकल ठोक्किँदा दुई जना युवाको मृत्यु भएको छ।
दमक नगरपालिका–१ बरगाछीमा दिउँसो करिब ३ः३० बजेतिर दुर्घटना भएको हो।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरमा दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र १-०१-०१८ प ८३०३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार युवाको घटनास्थलमै मृत्यु भएको छ।
मोटरसाइकल चालक इलामको चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र पछाडि सवार १९ वर्षीय जनम राई रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले टिपर चालक उदयपुरको त्रियुगा नगरपालिका–९ रातमाटेका ३२ वर्षीय हिवराज रायलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
प्रारम्भिक अनुसन्धानबाट दुवै सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।














Discussion about this post