मोरङ : मोरङका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। घटनामा १ जना पक्राउ परेका छन्।
विराटनगर–५ पुलचोकस्थित भित्री सडकखण्डमा बा ८ च ६५०८ नम्बरको स्कर्पियो गाडी शंकास्पद देखिएपछि वडा प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली खटिएको थियो।
चालक फरार भई अनियन्त्रित बनेको उक्त गाडी बाटो छेउको खाल्डोमा पसिसकेको अवस्थामा गाडीभित्रबाट ४ सय २० केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, जहदा गाउँपालिका–१ निवासी चन्दनकुमार साहले गाँजा लुकाइछिपाई राखेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीले सशस्त्र प्रहरी बलसँगको सहकार्यमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा साहले घर छेउको खाडलमा प्लास्टिकभित्र ९ पोकामा लुकाइराखेको २ सय ७५ किलो ८०० ग्राम गाँजा फेला पारेर बरामद गरिएको हो।
बरामद गाँजा तथा पक्राउ परेका व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post