इटहरी : सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा शनिबार चुनावी कार्यक्रममा तनाव उत्पन्न भएपछि प्रहरीले लाठीचार्ज गरेको छ।
सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार ज्ञानेन्द्र कार्की सभास्थलतर्फ जाँदै गर्दा बाटोमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवासँग जम्काभेट भएपछि विवाद चर्किएको थियो।
विवाद बढ्दै गएपछि कांग्रेसको भ्रातृ संगठन तरुण दल र रास्वपाका कार्यकर्ताबीच हातहालाहालको अवस्था बनेको प्रहरीले जनाएको छ।
परिस्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि दुवै पक्षलाई तितरवितर पार्न बल प्रयोग गरिएको सुनसरीका डीएसपी केशव थेवेले बताए। उनका अनुसार झडपमा संलग्न अधिकांश कार्यकर्ता छिमेकी भए पनि फरक दलको समर्थक भएकाले विवाद चर्किएको थियो।
प्रहरी हस्तक्षेपपछि क्षेत्रको अवस्था अहिले सामान्य रहेको छ। निर्वाचन नजिकिँदै जाँदा दलहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा सुरक्षा चुनौती पनि बढ्दै गएको देखिएको छ।














Discussion about this post