मोरङ
जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ।
मोरङको उर्लाबारी नगरपालिका–३ निवासी ३७ वर्षीय सनम तामाङको बुधबार राति विराटनगरस्थित कोशी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।
कारागार प्रशासक गौरव ढुङ्गेलका अनुसार उनलाई अचानक श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
ढुङ्गेलका अनुसार तामाङलाई पुरानै स्वास्थ्य समस्या रहेको र नियमित औषधि सेवन गरिरहेका थिए। अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाडौं रेफर गर्ने तयारीसमेत गरिएको थियो। बिहीबार बिहान लैजाने योजना बनाइए पनि त्यसअघि नै उनको मृत्यु भएको हो।
तामाङ लागूऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष ६ महिना कैद सजाय भुक्तान गरिरहेका थिए। जिल्ला अदालत मोरङको आदेशपछि २०८१ असोज १६ गते कारागार चलान गरिएका उनी २०८३ माघ २७ गते रिहा हुने मिति तोकिएको थियो।
हाल जिल्ला कारागार मोरङमा १ हजार १७५ जना कैदीबन्दी रहेका छन्, जसमध्ये १०२ जना महिला छन्।












Discussion about this post