झापा : जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालयबाट लुटिएको सरकारी हतियार जलेको अवस्थामा फेला परेको छ ।
दमक नगरपालिका–६ थाना रोडनजिक स्थानीय यामजी श्रेष्ठको खाली जग्गाको झाडीबाट गस्तीमा खटिएको प्रहरीले वाई १३४८७ नम्बरको ‘मार्क–४’ राइफल बरामद गरेको हो।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार राइफलको काठको भाग पूर्ण रूपमा जलेको छ भने धातुका भागमा व्यापक खिया लागेको छ।
प्रारम्भिक अनुसन्धानमा उक्त हतियार भदौ २४ गते जेनजी आन्दोलनको आडमा अराजक समूहले इलाका प्रहरी कार्यालय दमकबाट लुटेर लगेको पुष्टि भएको छ।
आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आगजनी, तोडफोड र आक्रमण गरी हतियार लुटिएको थियो।
प्रहरीका अनुसार हतियार कसले, कहिले र किन त्यहाँ लगेर फाल्यो भन्ने खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालको नेतृत्वमा लुटपाटमा संलग्न समूहको खोजी तीव्र पारिएको छ।
आन्दोलनताका सक्रिय व्यक्तिहरूको विवरण संकलन, सीसीटीभी फुटेज विश्लेषण र शंकास्पद गतिविधिको अध्ययन भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post