ओखलढुंगा : ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ बोहोरेमा वृद्ध दम्पतीको हत्या गरी लुटपाट गरेको घटनामा संलग्न अभियुक्तहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
७४ वर्षीय चन्द्र विक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्रमाया राईको माघ १२ गते राति करिब १० बजे हत्या भएको थियो।
घटनामा संलग्न ३४ वर्षीय धनबहादुर राना मगर र अर्का एक १७ वर्षीय नाबालकलाई ओखलढुंगा जिल्ला अदालतले फागुन १४ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
हत्या पश्चात् धनमाल लुटेर फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले माघ २३ गते काठमाडौंको डल्लुबाट पक्राउ गरेको थियो।
अनुसन्धान प्रक्रिया पूरा भएपछि अदालतमा पेश गरिएको थियो।
अदालतको आदेशसँगै मुख्य अभियुक्त धनबहादुर राना मगरलाई कारागार कार्यालय ओखलढुंगा चलान गरिएको छ भने नाबालकलाई सुधारका लागि बालसुधार गृह विराटनगर पठाइएको छ।
उनीहरूमाथि लुटपाट र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईका अनुसार घटनालाई गम्भीर अपराधका रूपमा लिएर सूक्ष्म अनुसन्धान गरिएको थियो।
प्रहरीले घटनाको सम्पूर्ण पाटो अदालतमा पेश गरिसकेको र अब न्यायिक प्रक्रियाअनुसार अगाडि बढ्ने जनाएको छ।














Discussion about this post