विराटनगर : विराटनगरमा विवाह समारोहमा काम गर्न गएकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ।
मंगलबार दिउँसो विराटनगर महानगरपालिका–११ जनप्रिय टोलमा भएको घटनामा अन्दाजी ५५–५६ वर्षीया महिलाको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय रवीन्द्र साहको घरमा छोरीको विवाहका लागि तयारी भइरहेका बेला झिलिमिली बत्ती जडान गरिएको तारबाट करेन्ट लाग्दा ती महिला गम्भीर घाइते भएकी थिइन्।
दिउँसो करिब ४ बजेतिर भएको घटनापछि उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रारम्भिक अनुसन्धानका क्रममा ती महिला क्याटरिङ पक्षमार्फत विवाह घरमा काम गर्न आएको अनुमान गरिएको छ। तर क्याटरिङको जिम्मा लिएको व्यक्ति को हो र महिलालाई कहाँबाट ल्याइएको हो भन्नेबारे अझै यकिन हुन सकेको छैन।
प्रहरीले मृतक महिलाको पहिचान भइनसकेको र घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।














Discussion about this post