इटहरी : सुनसरीको इनरुवास्थित मालपोत कार्यालय परिसरबाट पक्राउ परेका १३ जना लेखापढी कानून व्यवसायी पाँच दिनपछि धरौटीमा रिहा भएका छन्।
बिचौलियाका रूपमा सेवाग्राहीलाई दुःख दिएको आरोपमा चैत १८ गते प्रहरीले नियन्त्रणमा लिएका उनीहरूलाई प्रति व्यक्ति ५ हजारदेखि १० हजार रुपैयाँसम्म धरौटी लिएर रिहा गरिएको हो।
प्रहरी कारबाहीको विरोधमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन सुनसरीले लगातार आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको थियो।
एसोसिएसनका सचिव प्रताप भट्टराईका अनुसार पक्राउको विषयमा असन्तुष्टि जनाउँदै संवाद, विरोध तथा कानूनी उपचारको प्रक्रिया अघि बढाइएको थियो।
यसैबीच, व्यवसायीहरूले उच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गरेका छन्। उच्च अदालत विराटनगरमा दर्ता उक्त निवेदनमाथि चाँडै सुनुवाइ हुने अपेक्षा गरिएको छ।
पक्राउ परेकामध्ये २ महिला र ११ पुरुष रहेका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी चन्द्रबहादुर खड्काका अनुसार सेवाग्राहीको काम छिटोछरितो गरिदिने बहानामा अवैध रूपमा रकम असुल्दै आएको गुनासोपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।
पक्राउ पर्नेहरूमा रामधुनी–९ का २८ वर्षीय युजिन घिमिरे, रामधुनी–५ का ५६ वर्षीय धननारायण श्रेष्ठ, इटहरी–५ की २७ वर्षीया अर्चना आचार्य, इटहरी–५ का ५० वर्षीय दीपककुमार दाहाल, इनरुवा–३ की ३२ वर्षीया आयसा मोते, इनरुवा–२ का २४ वर्षीय मिलन मेहता रहेका थिए।
यसैगरी इनरुवा–६ का ५२ वर्षीय मेघराज फुयाल, इनरुवा–८ का ४० वर्षीय वीरेन्द्र पण्डित, इनरुवा–२ का ३५ वर्षीय असिप आचार्य, इनरुवा–६ का ४९ वर्षीय रोशन विक, इनरुवा–१ का ३२ वर्षीय प्रमोसकुमार सिंह, भोक्राहा नरसिंह गाउँपालिका–५ का २५ वर्षीय एकरार आलम मन्सुरी र भोक्राहा नरसिंह–१ का २६ वर्षीय सर्ताज आलम मन्सुरी रहेका थिए।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी अनुसन्धान गरिएको थियो।














Discussion about this post