मोरङ : मोरङको केराबारी गाउँपालिका–७ मा यात्रुवाहक बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
सोमबार अपराह्न धरानबाट केराबारीतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको बसले पैदल हिँडिरहेका ८० वर्षीय लोकबहादुर राईलाई ठक्कर दिएको थियो। गम्भीर घाइते राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
स्थानीयवासीका अनुसार लोकमार्ग विस्तारसँगै सवारीको चाप र गति बढे पनि पैदलयात्री, विशेषगरी ज्येष्ठ नागरिकको सुरक्षाका लागि आवश्यक पूर्वाधार र सचेतना पर्याप्त छैन।
सडक पार गर्ने स्थान, चेतावनी संकेत तथा गति नियन्त्रणका उपाय प्रभावकारी नहुँदा यस्ता दुर्घटना दोहोरिने गरेको गुनासो छ।
दुर्घटनापछि बस र चालक केराबारी–५ निवासी २५ वर्षीय संगम रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post