झापा : झापाको गौरादहमा मादक पदार्थ सेवन (मापसे)गरेर साइकल चलाइरहेका एक वृद्धको टिपरको ठक्करबाट मृत्यु भएको छ।
पाडाजुंगी–गौरीगन्ज भित्री पक्की सडकखण्डअन्तर्गत गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल पम्पअगाडि भएको दुर्घटनामा गौरादह–४ का ६१ वर्षीय प्रेमप्रसाद गुरागाईंको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार डिपु चोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्र–१–०१–००१ क ११८८ नम्बरको टिपरले साइकलमा सवार गुरागाईंलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी दमक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रारम्भिक अनुसन्धानमा गुरागाईंले मादक पदार्थ सेवन गरेर साइकल चलाइरहेको खुलेको प्रहरीले जनाएको छ। दुर्घटनापछि टिपर र चालक गौरादह–१ का ३५ वर्षीय उमेश ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
प्रहरीले मादक पदार्थ सेवन गरी कुनै पनि सवारी साधन वा साइकल चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यस्ता गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।












Discussion about this post