खोटाङ : केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी एलिना राईले २०७६ सालमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरिन् ।
कुहुडाँडा माध्यमिक विद्यालय फेदीबाट एसइई उत्तीर्ण गरेको केही समयपछि एलिना सोही ठाउँका दिनेश साम्पाङसँग विवाह बन्धनमा बाँधिइन्।
एलिना र दिनेशका दुई सन्तान (छोरा र छोरी) छन् । विवाहलगत्तै लगातार दुई सन्तानलाई जन्म दिएकी एलिना र दिनेशका छोरा कक्षा–३ मा तथा छोरी कक्षा–२ मा पृथ्वी माध्यमिक विद्यालय बाक्सिलामा अध्ययनरत छन्।
एसइई उत्तीर्ण गरेको चार वर्षपछि छोराछोरीसँगै आफ्नो पढाइलाई निरन्तरता दिएकी एलिनाले यस वर्ष २.८४ जिपिए अङ्क ल्याएर कक्षा–१२ उत्तीर्ण गरेकी छन् । विवाह बन्धनमा बाँधिएका कारण बीचैमा पढाइ छाडेकी एलिनाले पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाबाट कक्षा–१२ उत्तीर्ण गरेकी हुन्।
एलिनासँगै शिक्षा राईले २.७५ जिपिए, देवका राईले २.६२ जिपिए र सुस्मिता राईले २.३३ जिपिएर अङ्क ल्याएर कक्षा–१२ उत्तीर्ण गरेको पृथ्वी माविका शिक्षक दिनेशकुमार राईले जानकारी दिए । एलिनासहित चार विवाहित महिलाले केपिलासगढी गाउँपालिकाले सञ्चालन गरेको ‘बुहारी शिक्षा’ कार्यक्रमअन्तर्गत कक्षा–१२ उत्तीर्ण गरेका हुन्।
केपिलासगढी गाउँपालिका–६ दिप्सुङस्थित रेनुका माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेकी देवकाले वडा नम्बर ७ सुङ्देलमा विवाह गरेकी हुन्। एक छोरालाई जन्म दिएपछि देवकाले आफ्नो पढाइलाई निरन्तरता दिइन्।
केपिसालगढी गाउँपालिका–३ बाक्सिला स्थायी घर भएकी शिक्षाले पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाबाटै एसइई उत्तीर्ण गरेकी थिइन्। शिक्षाले दुई छोरालाई हुर्काउँदै आफ्नो पढाइलाई निरन्तरता दिइन् ।
ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा जन्मिएकी सुस्मिताले सोही ठाउँको कालिका माविबाट एसइई उत्तीर्ण गरेकी थिइन् । केपिलासगढी गाउँपालिका–३ बाक्सिलामा विवाह गरेर एक छोरा र एक छोरीलाई जन्म दिएपछि सुस्मिता पुनः विद्यार्थी जीवनमा फर्किएकी हुन्।
सात वडा रहेको यो गाउँपालिकामा शैक्षिकसत्र २०७९/८० देखि सुरु भएको उक्त कार्यक्रम छोटो समयमै प्रभावकारी बन्दै गएको पाइएको छ।
गाउँपालिकाको आन्तरिक स्रोतबाट सञ्चालन गरिएको बुहारी शिक्षा कार्यक्रम अन्तरगत हालसम्म विभिन्न वडाका १२ विवाहित महिलाले सेवा लिइसकेका गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिए।
बिहेपछि पनि पढ्न इच्छुक बुहारीले कम्तीमा कक्षा–८ उत्तीर्ण गरेको हुनुपर्ने र त्यस्ता इच्छुक बुहारीलाई कक्षा–१२ सम्म नाम लेखाउन, फर्म भर्न, पुस्तक, पोसाक, स्टेसनरीलगायतमा गाउँपालिकाले सहयोग उपलब्ध गराउँदै आएको छ ।
गाउँपालिकाले कार्यपालिकाको बैठकमार्फत बुहारीलाई कक्षा–१२ सम्म निःशुल्क अध्ययन गराउने नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको प्रमुख खनालले बताए।
पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई लक्षित गर्दै गाउँपालिकाले ‘बुहारी शिक्षा’ कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका प्रमुख समिर राईले बताए।
“घरमा आमा शिक्षित भए परिवार नै शिक्षित हुन्छ । त्यही भएर बुहारीलाई शिक्षित बनाउने, क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने र आत्मनिर्भर बन्न प्रेरित गर्ने योजनाअन्तरगत बुहारी शिक्षा कार्यक्रम ल्याएका हौँ”, उनले भने, “महिला हरेक हिसाबले आत्मनिर्भर बन्नुपर्छ । तब मात्रै समाज परिवर्तन सम्भव छ। कक्षा–१२ उत्तिर्ण गरेपछि जागिर खोज्लान् वा उच्च शिक्षाका लागि आफैँ अघि बढ्लान् । गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको सेवा लिएर समाजमा अगुवाइ गर्लान् भन्ने अपेक्षासहित बुहारी शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।”
गाउँपालिकामा सामुदायिकतर्फ एक प्रस्तावितसहित आठ माध्यमिक विद्यालय सञ्चालनमा छन्। पढ्न इच्छुक बुहारीले गाउँपालिकाभित्र आफूलाई पायक पर्ने जुनसुकै शैक्षिक संस्थामा गएर अध्ययन गर्न पाउने व्यवस्था मिलाइएको प्रमुख राईले बताए।
घरायसी कामले विद्यालय जान नसक्ने बुहारीका लागि निःशुल्क अभ्यास कक्षाको व्यवस्थासमेत मिलाइएको छ। पढ्न इच्छुक बुहारीको तथ्याङ्कक र आवेदन सङ्कलनका लागि गाउँपालिकाको शिक्षा शाखा र महिला तथा बालबालिका शाखालाई जिम्मेवारी दिइएको छ।













Discussion about this post