यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै सदस्य पदका उम्मेदवार सन्नी चौधरीसँग वर्तमान व्यावसायिक वातावरण, उद्योगी–व्यवसायीले भोगिरहेका चुनौती, उद्योग वाणिज्य संघको भूमिका तथा निर्वाचित भए कार्यान्वयन गर्ने प्राथमिकताबारे गरिएको कुराकानीको सम्पादित अंश :-
१. सर्वप्रथम आफ्नो व्यक्तिगत तथा व्यवसायिक पृष्ठभूमिबारे बताइदिनुहोस् न। कुन व्यवसायमा हुनुहुन्छ र यो क्षेत्रमा कति वर्षदेखि सक्रिय हुनुहुन्छ ?
नमस्कार। सर्वप्रथम मलाई आफ्ना कुरा राख्ने अवसर दिनुभएकोमा धन्यवाद। मेरो परिवार इटहरीमा विगत पाँच दशकभन्दा बढी समयदेखि व्यापार–व्यवसाय गर्दै आएको परिवार हो। मेरो हजुरबुवाको पालादेखि सुरु भएको व्यवसायिक यात्रालाई अहिले हामी तेस्रो पुस्ताले निरन्तरता दिइरहेका छौं। त्यसैले व्यवसाय मेरो पेशा मात्र होइन, हाम्रो परिवारको परम्परा र पहिचान पनि हो।
हाल म सुपर सेल ब्याट्री इन्डस्ट्रिज प्रा.लि.को अध्यक्षका रूपमा उत्पादनमूलक उद्योगमा, शिव शक्ति स्टोर प्रा.लि.मार्फत हार्डवेयर तथा स्क्र्याप व्यवसायमा र स्वस्तिक ग्रुप अफ कम्पनीमार्फत ब्याङ्क्वेट सेवामा संलग्न छु।
यी तीनवटै फरक प्रकृतिका क्षेत्रमा काम गर्ने अवसर पाएकाले इटहरीका उद्योगी–व्यवसायीहरूले दैनिक रूपमा भोगिरहेका समस्या, चुनौती र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर मिलेको छ। यही अनुभवलाई उद्योग वाणिज्य संघमार्फत सम्पूर्ण व्यवसायीको हितमा उपयोग गर्ने उद्देश्यका साथ म अहिले चुनावी मैदानमा आएको हुँ।
२. उद्योग वाणिज्य संघसँग तपाईंको सम्बन्ध कहिलेदेखिको होरु यसअघि संघमा कुनै जिम्मेवारी सम्हाल्नुभएको थियो ?
उद्योग वाणिज्य संघसँग मेरो सम्बन्ध विगत १५ वर्षदेखिको हो। सुरुमा साधारण सदस्यको हैसियतले संघमा आबद्ध भएर काम थालेको हुँ। यी १५ वर्षमा संघका विभिन्न कार्यक्रम, छलफल र गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छु। हाल म संघमा कोषाध्यक्षको जिम्मेवारीमा कार्यरत छु। जसले संस्थाको आर्थिक व्यवस्थापन र पारदर्शिताको जिम्मेवारी बहन गर्दै आएको छु।
३. तपाईंलाई चुनाव लड्न प्रेरित गर्ने मुख्य कारण के हो ?
१५ वर्षको संघगत अनुभव र हालको कोषाध्यक्षको भूमिकाबाट मैले व्यवसायीहरूका वास्तविक समस्या र संघको आन्तरिक कार्यप्रणालीलाई नजिकबाट बुझ्ने अवसर पाएको छु। यही अनुभवले मलाई अब संघलाई अझ प्रभावकारी, समावेशी र व्यवसायीमैत्री बनाउन थप जिम्मेवारीका साथ अगाडि बढ्न प्रेरित गरेको छ। परिवारबाटै व्यवसायको संस्कार सिकेको मानिसको हैसियतले इटहरीको व्यावसायिक समुदायलाई केही फर्काएर योगदान दिने मेरो चाहना नै मुख्य प्रेरणा हो।
४. निर्वाचित हुनुभयो भने तपाईंको पहिलो प्राथमिकता के हुनेछ ?
निर्वाचित भएमा मेरो पहिलो प्राथमिकता साना तथा मझौला व्यवसायीहरूको आवाज संघको निर्णय प्रक्रियामा प्रत्यक्ष समावेश गर्ने संयन्त्र निर्माण गर्नु हुनेछ। साथै, संघको आर्थिक पारदर्शिता र सदस्यहरूसँगको नियमित सञ्चार व्यवस्था सुदृढ गर्ने काम पनि प्राथमिकतामा राख्नेछु।
५. साना तथा मझौला व्यवसायीको हितका लागि संघले अहिलेभन्दा फरक के गर्नुपर्छ भन्ने लाग्छ ?
संघले साना व्यवसायीहरूलाई पनि ठूला व्यवसायीसरह निर्णय प्रक्रियामा सहभागी गराउने र तिनका समस्यालाई प्राथमिकतामा राख्ने संस्कृति विकास गर्नुपर्छ। साथै, साना व्यवसायीका लागि तालिम, सीप विकास र बजार पहुँचका अवसरहरू सिर्जना गर्नेतर्फ संघ अझ सक्रिय हुनुपर्छ भन्ने मलाई लाग्छ।
६. इटहरीका उद्योगी–व्यवसायीले अहिले भोगिरहेका सबैभन्दा ठूला समस्या के–के हुन् ? ती समाधानका लागि तपाईंको योजना के छ ?
मुख्य समस्याहरूमा कच्चा पदार्थको बढ्दो मूल्य, बजारमा देखिएको मन्दी र पूर्वाधारको अभाव पर्दछन्। यी समस्या समाधानका लागि म संघमार्फत स्थानीय सरकार र सम्बन्धित निकायसँग निरन्तर संवाद, साना उद्योगका लागि सहज कर्जा सुविधाको वकालत तथा व्यवसायीहरूको साझा आवाज बनाएर नीति निर्माण तहमा पहुँच बनाउने योजनामा काम गर्नेछु।
७. संघभित्र सबै व्यवसायीको आवाज समान रूपमा सुनिने वातावरण बनाउन तपाईंले कसरी काम गर्नुहुन्छ ?
म नियमित रूपमा साना, मझौला र ठूला सबै प्रकारका व्यवसायीहरूसँग छलफल र भेटघाट गर्ने संयन्त्र बनाउनेछु। संघका निर्णयहरू केही सीमित व्यक्तिमा मात्र नरही फराकिलो सहभागितामार्फत हुने वातावरण निर्माण गर्न प्रतिबद्ध छु।
८. बजारमा मन्दी, घट्दो कारोबार र अनलाइन व्यापारको बढ्दो प्रभावलाई तपाईं कसरी हेर्नुहुन्छ ?
यो अहिलेको समयको एउटा वास्तविकता हो, जसलाई अस्वीकार गरेर हुँदैन। यसलाई चुनौतीका साथसाथै अवसरका रूपमा पनि हेर्नुपर्छ। परम्परागत व्यवसायीहरूलाई डिजिटल प्लेटफर्म र आधुनिक व्यापार सीपसँग जोड्ने काममा संघले नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने मेरो धारणा हो।
९. स्थानीय सरकार, कर नीति, बैंकको ब्याजदर र लगानीमैत्री वातावरणबारे तपाईंको धारणा के छ ?
लगानीमैत्री वातावरण निर्माणका लागि स्थानीय सरकार, कर प्रशासन र बैंकिङ क्षेत्रसँग व्यवसायी वर्गको निरन्तर संवाद अत्यावश्यक छ। कर नीति व्यवहारिक र स्थिर हुनुपर्छ, र ब्याजदर पनि उत्पादनमूलक उद्योगका लागि सहज हुनुपर्छ भन्ने मेरो मान्यता हो। संघले यी विषयमा एकजुट भएर आवाज उठाउनुपर्छ।
१०. चुनावपछि धेरै प्रतिनिधि व्यवसायीबाट टाढा हुने आरोप लाग्छ। तपाईंले त्यो विश्वास कसरी तोड्नुहुन्छ ?
मैले अघि पनि भनिसकेँ, विगत १५ वर्षदेखि साधारण सदस्यको हैसियतबाट सुरु गरेर हालसम्म संघसँग निरन्तर जोडिएर काम गर्दै आएको व्यक्ति हुँ। यही निरन्तरता नै मेरो प्रतिबद्धताको प्रमाण हो। निर्वाचित भएपछि पनि नियमित भेटघाट, पारदर्शी सूचना प्रवाह र व्यवसायीहरूसँगको प्रत्यक्ष सम्पर्कमार्फत यो जिम्मेवारीलाई कर्तव्यका रूपमा निर्वाह गर्नेछु।
११. अन्त्यमा, इटहरीका सम्पूर्ण उद्योगी–व्यवसायीलाई तपाईंको सन्देश के छ ?
इटहरी आज जुन आर्थिक चेतना र व्यावसायिक हैसियतमा उभिएको छ, त्यो हामी सबैको साझा मिहिनेतको फल हो। आउँदा दिनमा पनि हामी सबै एकजुट भएर, एक–अर्काको समस्या बुझेर अगाडि बढ्न सक्यौँ भने इटहरीलाई अझ समृद्ध औद्योगिक तथा व्यावसायिक केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ। म सबै व्यवसायी दाजुभाइ तथा दिदीबहिनीहरूको साथ र सहयोगको अपेक्षा राख्दछु। र, नवराज काफ्ले नेतृत्वको साझा समूहलाई विजयी बनानुहुन अनुरोध गर्दछु।





















Discussion about this post