इनरुवा : सुनसरीको इनरुवा बजारमा दुर्लभ पंक्षी कर्रा सुँगा (एलेक्जेन्ड्रिन प्याराकिट)खुला रूपमा बिक्रीका लागि राखिएको पाइएको छ।
नेपालमा पाइने सुँगामध्ये सबैभन्दा ठूलो र आकर्षक मानिने उक्त चरालाई एक व्यापारीले ६ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्न खोजिरहेका थिए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तुको खरिद–बिक्री, ओसारपसार तथा पाल्न निषेध गरेको भए पनि बजारमै खुला रूपमा यस्तो कारोबार भइरहनुले सम्बन्धित निकायको अनुगमन र कार्यान्वयनमाथि प्रश्न उठाएको छ।
कर्रा सुँगा (एलेक्जेन्ड्रिन प्याराकिट) नेपालका तराई तथा चुरे क्षेत्रका वनमा पाइने दुर्लभ चरामध्ये एक हो।
यसको आकर्षक हरियो शरीर, रातो चुच्चो र ठूलो आकारका कारण अवैध रूपमा पाल्ने तथा बेचबिखन गर्ने प्रवृत्ति देखिने गरेको संरक्षणकर्मीहरू बताउँछन्।
वन्यजन्तु विज्ञहरूका अनुसार प्राकृतिक वासस्थानबाट चराहरू समातेर व्यापार गर्दा जैविक विविधतामा प्रत्यक्ष असर पर्नुका साथै यस्ता प्रजातिको अस्तित्व नै संकटमा पर्न सक्छ।
स्थानीयवासीले बजारमै संरक्षित चराको खुलेआम बिक्री भइरहेको भन्दै डिभिजन वन कार्यालय तथा सम्बन्धित निकायले तत्काल अनुगमन गरी अवैध कारोबार नियन्त्रण गर्नुपर्ने माग गरेका छन्।





















Discussion about this post