इटहरी : नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई शपथ गराएका हुन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए।
शिक्षा मन्त्रालयका अनुसार उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कार्यविधि–२०८३ अनुसार खतिवडालाई नियुक्त गरिएको हो।
नाट्य विधामा विद्यावारिधि गरेका खतिवडा लामो समयदेखि संस्कृत साहित्य, अध्यापन र अनुसन्धानमा सक्रिय छन्। उनी यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
झापामा जन्मिएका खतिवडाले धरानलाई आफ्नो कर्मथलो बनाउँदै पिण्डेश्वर विद्यापीठ तथा नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएका छन्।
संस्कृत साहित्यमा स्वर्णपदक प्राप्त उनले ‘दुःखान्त नाटकको दुःखान्तता सिद्धि’ विषयमा विद्यावारिधि गरेका हुन्।
शपथपछि खतिवडाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सम्पदाको संरक्षण तथा व्यवस्थापन तथा कला, साहित्य, संस्कृति र धर्मसम्बन्धी अध्ययन–अनुसन्धानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
















Discussion about this post