इटहरी : कोशी प्रदेशसहित देशैभरका बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि उपभोक्ता सास्तीमा परेका छन्।
ग्यास डिलर तथा बिक्री केन्द्रमा सिलिन्डर भर्न र साट्न पुगेका उपभोक्ताले घण्टौं लाइन बस्नुपरेको छ भने धेरै स्थानमा खाली सिलिन्डर लिएर फर्किनुपर्ने अवस्था आएको छ।
डिलरहरूका अनुसार आपूर्ति अनियमित भएपछि मागअनुसार ग्यास वितरण गर्न नसकिएको हो। केही स्थानमा सीमित परिमाणमा मात्र ग्यास उपलब्ध भएकाले उपभोक्तालाई पालोअनुसार वितरण भइरहेको छ।
अचानक ग्यास अभाव भएपछि घरायसी उपभोक्तासँगै होटल, रेस्टुरेन्ट र साना व्यवसायसमेत प्रभावित भएका छन्। कतिपयले वैकल्पिक रूपमा विद्युतीय चुलो वा दाउरा प्रयोग गर्न थालेका छन्।
ग्यास अभावको कारण भारतबाट हुने आपूर्ति प्रभावित हुनु, ढुवानीमा आएको समस्या तथा माग बढ्नु रहेको व्यवसायीहरूले बताएका छन्।
उपभोक्ताले कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेमाथि अनुगमन तथा कारबाही गर्न सरकारसँग मागसमेत गरेका छन्।
बजारमा नियमित आपूर्ति नभएसम्म उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने अवस्था नदेखिएको उनीहरूको भनाइ छ।












Discussion about this post