झापा : झापाको अर्जुनधारा र बुद्धशान्तिमा एक साताको अवधिमा सर्पदंशबाट दुई युवाको मृत्यु भएको छ। दुवै घटना रातिको समयमा घरमै सर्पले टोकेपछि उपचारका लागि अस्पताल पुर्याइएका अवस्थामा भएका हुन्।
अर्जुनधारा नगरपालिका–८ रानागाउँका २० वर्षीय विनोद लिम्बूको शुक्रबार सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिहीबार राति करिब १२ बजे घरमा भुइँमा सुतिरहेका बेला उनलाई विषालु सर्पले टोकेको थियो।
सर्पले टोकेपछि लिम्बूलाई तत्काल चारआलीस्थित सर्पदंश उपचार केन्द्र लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएको थियो।
अस्पतालमा चिकित्सकले जाँच गर्दा शुक्रबार बिहान उनको मृत्यु भएको हो।
यसअघि पाँच दिनअघि बुद्धशान्ति गाउँपालिका–३ गोसलाइनकी २० वर्षीया अनुसा राईको पनि सर्पदंशबाट मृत्यु भएको थियो।
राति करिब ८ः२० बजे सर्पले टोकेपछि उनलाई तत्काल अस्पताल पुर्याइए पनि बचाउन नसकिएको परिवारका सदस्यले बताएका छन्।
विशेषगरी भुइँमा सुत्ने तथा घर आसपास झाडी र घाँसपात भएका परिवारलाई राति थप सतर्क रहनुपर्ने अवस्था देखिएको छ।











Discussion about this post