इटहरी : जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
अदालतका विभिन्न मितिका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ का विक्सन परियार रहेका छन्। उनी अभद्र व्यवहार मुद्दामा दोषी ठहर भएका थिए। अदालतको २०८० भदौ ९ गतेको फैसलाअनुसार उनलाई ८ हजार रुपैयाँ जरिवाना र ६५ दिन कैद तोकिएको थियो। सोही व्यक्तिविरुद्ध अभद्र व्यवहारकै अर्को मुद्दामा २०८१ माघ ८ गतेको फैसलाले ७ हजार रुपैयाँ जरिवाना र ४० दिन कैद तोकेको थियो।
यस्तै, धरान–५ का नारायण अधिकारी अभद्र व्यवहार मुद्दामा दोषी ठहर भई १५० दिन कैद भुक्तान गर्न बाँकी रहेको अवस्थामा पक्राउ परेका छन्। उनलाई २०८१ माघ ८ गतेको फैसलाले उक्त सजाय तोकेको थियो।
धरान–५ कै गणेश लावतीलाई सवारी अंगभंग मुद्दामा दोषी ठहर भई २ हजार ५ सय रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। अदालतले २०८३ वैशाख १२ गते उनलाई जरिवाना तोकेको थियो।
त्यस्तै, धरान–८ का सुवास लिम्बूलाई लागूऔषध मुद्दामा दोषी ठहर भई ८ सय ५० रुपैयाँ जरिवाना भुक्तान नगरेको अवस्थामा पक्राउ गरिएको छ। उनलाई २०७४ असार २६ गतेको फैसलाले जरिवाना तोकेको थियो।
चेक अनादर मुद्दामा धरान–१८ का दिलकुमार लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई २०८१ वैशाख १० गतेको फैसलाले ५ सय रुपैयाँ जरिवाना तोकेको थियो।
पक्राउ परेका सबैलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।












Discussion about this post