मोरङ : सामुदायिक क्याम्पसले भोग्दै आएका समस्या तथा विभेदका विषयमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुख, प्राध्यापक तथा कर्मचारीबीच अन्तरक्रिया गरिएको छ ।
नेपाल पब्लिक क्याम्पस संघ कोशी प्रदेशको आयोजनामा मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेल तथा त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका प्रमुख डा. गोविन्द गुरागाईंको सहभागिता थियो ।
छलफलमा झापा, मोरङ, सुनसरी र धनकुटाका सामुदायिक तथा आंगिक क्याम्पसका क्याम्पस प्रमुख, प्राध्यापक र कर्मचारी सहभागी थिए । सहभागीहरूले त्रिविमा देखिएका समस्या तथा सामुदायिक क्याम्पसले भोग्दै आएका विभेदबारे खुलेर धारणा राखेका थिए ।
सहभागीहरूले सामुदायिक क्याम्पसको शैक्षिक तथा प्रशासनिक समस्या, परीक्षा प्रणाली र प्राध्यापक तथा कर्मचारीका विभिन्न विषयमा त्रिविको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा उपकुलपति थापा र परीक्षा नियन्त्रक पौडेलले उठाइएका समस्या समाधानका लागि आवश्यक पहल भइरहेको बताए । उपकुलपति थापाले सामुदायिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीको स्तर निर्धारणसम्बन्धी प्रक्रिया तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा सामुदायिक क्याम्पसलाई त्रिविको शैक्षिक प्रणालीमा समान अवसर र व्यवहार सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।












Discussion about this post