धरान : धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० देखि ३५ वर्षका पुरुष रहेका छन् । उनको नाम, थर र वतन खुल्न नसकेको प्रहरीले जनाएको छ ।
धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कोशी लोकमार्गमा दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०२–००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले जानकारी दिए ।
दुर्घटनापछि प्रहरीले ट्रक, चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । ट्रक चालक भोजपुरको षडानन्द नगरपालिका–१३, बोयाका ३५ वर्षीय नानीकाजी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीले मृतकको पहिचान खुलाउने तथा दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।















Discussion about this post