इटहरी (डेस्क) : मोरङ र झापाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध खैरोहिरोईन र लागूऔषध ट्याब्लेट सहित ८ जना पक्राउ परेका छन् ।
मोरङ रतुवामाई नगरपालिका –४ आमबारीबाट दुई जना खैरोहिरोईन सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रतुवामाई २ झुर्कियाका ४२ बर्षीय मोहम्मद रफिक मिया र भारत अररिया जिल्ला कुचहा धाताका २२ बर्षीय मोहम्मद नवाब आलम रहेका छन् ।
भारतीय नम्बर प्लेटको सवारीमा सवार दुबै जनालाई नियन्त्रणमा लिई उनिहरु उपर चेकजाँच गर्दा १२६ ग्राम १४ मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरी झापाको मेचीनगर नगरपालिका–६ बाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।
धरान–१७ का २४ बर्षीय ईश्वर थापा र पाँचथरको हिलिहाङ गाउँपालिका–२ का २८ बर्षीय अरुण सुब्बालाई ५० ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।
यस्तै, ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ का २० बर्षीय समीर तामाङ र २२ बर्षीय नवीन लिम्बूलाई १ ग्राम ६०० मिलिग्राम ब्राउनसुगर सहित बेलडागीबाट पक्राउ गरेको हो ।
यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुद्धाशान्ति गाउँपालिका–४ का २२ बर्षीय प्रवेश माझीलाई ६ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ।
बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई किरात चोकबाट पक्राउ गरेको हो ।
यस्तै, ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–५ का १५ बर्षीय रमेश राजवंशीलाई लागूऔषध लुपिजेसिक ३० सिसि, डाईजोपिन ३० सिसि र प्रोमोथाईजिन ३० सिसि गरि जम्मा ९० सिसि सहित मेचीनगर नगरपालिका–६ बाट पक्राउ गरेको छ।
लागूऔषध सहित पक्राउ परेका आठै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।














Discussion about this post