धरान : प्रदेश १ स्तरीय बराह ग्रुप महिला पुरुष बास्केटबल प्रतियोगिता आउँदो चैत्र २ गतेदेखि हुने भएको छ ।
धरान बास्केटबल सङ्घको आयोजना तथा धरान उपमहानगरपालिका र सुनसरी बास्केटबल सङ्घको सहयोगमा आयोजना हुन लागेको प्रतियोगिताको विषयमा आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
गत वर्ष चैत्र ७ देखि १२ गते सम्म प्रतियोगिता आयोजना गर्ने सम्पूर्ण तयारी भइसके पनि अन्तिम चरणमा विश्वलाई नै आतङ्कित बनाएको कोरोना भाइरसको महामारीको कारण लागु गरिएको लकडाउनले गर्दा प्रतियोगिता रोकिएको जिल्ला बास्केटबल सङ्घ, सुनसरीका अध्यक्ष नारायण सुवेदीले जानकारी गराए ।
धरान १२ स्थित हिमालयन मेघा कलेजको बास्केटबल कोर्टमा आयोजना हुने प्रतियोगितामा पुरुष तर्फ १३ र महिला तर्फ ६ टिमले सहभागिता जनाउने भएका छन् । विजेता टिमले पुरुष तर्फ नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
महिला तर्फ विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार, ट्रफि, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ । प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद २ हजार, हाइ स्कोररले नगद १ हजार रुपैयाँ र राइजिङ प्लेयरले ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रमका सभाध्यक्ष धरान बास्केटबल सङ्घका अध्यक्ष एवं बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाले जानकारी दिए ।
व्याचलर लेबलका २३ वर्ष मुनिका खेलाडीहरू सहभागी हुन पाउने प्रतियोगितामा धरान , विराटनगर, बिर्तामोड र इटहरीका कलेजका टिमले सहभागीता जनाएका छन् ।














Discussion about this post