इटहरी :
गत असोज २७ गते इटहरी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै २८ गतेदेखि पीसीआर परीक्षण नहुने जानकारी गरायो ।
स्वाब संकलनका लागि किट अभाव भएको भन्दै अर्को सूचना प्रकाशित नभएसम्म इटहरीमा स्वाब संकलन नहुने जानकारी गराएको थियो ।
पछिल्लो समय कोरोनाको ग्राफ उच्च रहेको र किट अभाव भएको भन्दै इटहरी उपमहानगरपालिकामा पीसीआर परीक्षण नहुने जानकारी गराएपछि इटहरीबासी चिन्तित बने ।
तर, इटहरीमा कोरोना परीक्षण नभएपनि दैनिक संक्रमितको संख्या बाहिरिएसँगै आम मानिस कौतुहलता सँगै आश्चर्यचकित भए ।
पीसीआर परीक्षण नै नहुने इटहरीमा दैनिक संक्रमितको संख्या कसरी आउँछ भन्ने एकथरीको बुझाई छ भने अर्कोथरीले इटहरी सरकारले जनताको माग अनुसार काम गर्न नसकेको र बाहिरी हौवा मात्र फिजाउने गरेको तर्क गर्दै आएका छन् ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले भने प्रदेशमा दैनिक थपिएका संक्रमितको बारेमा अपडेट गराउँदै आएको छ । प्रदेश सरकारले अपडेट गरेको दैनिक संख्यामा इटहरीमा पनि कोरोना संक्रमित थपिएको जनाएको छ । बुधबार (आज) मात्रै पनि इटहरीमा ७४ जना संक्रमित थपिएका छन् ।
इटहरीमा संक्रमितको संख्या बढ्दै गएको तर परीक्षण नभएको खबर बाहिरिदैँ आएपछि आम मानिस आश्चर्यमा परेका छन् ।
इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरी भन्छन्, ‘सबैको पोजेटिभ देखिन्छ अब, सबै संक्रमित छन् ।’ उनले इटहरीमा अब परीक्षण गर्नुको औचित्य नै नरहेको भन्दै गैरजिम्मेवारी जवाफ दिए ।
‘अब जाँच्नुको औचित्य छैन, जाँच गरेर सक्ने स्थिति पनि छैन,’ चौधरीले टाकुरासँग भने, ‘सबैमा लक्षण देखिन थालेको छ, अब सबैमा पोजेटिभ देखिन्छ ।’ अहिले थपिएका संक्रमित भने २ गते गरिएको परीक्षणको र केही अलिक अगाडि जाँच गरिएकाको रहेको उनले प्रतिक्रिया दिए ।
कोरोना नियन्त्रण, राहत, उद्धार तथा पुर्नस्थापनाका लागि भनेर यसअघि इटहरी उपमहानगरपालिकाले ५ करोड खर्च गरेको थियो ।
तर, हालसम्म इटहरीमा कोरोना संक्रमित कति छन् र निको भएकाको संख्या कति छ भन्ने यकिन डाटा नै इटहरी उपमहानगरपालिकासँग नभएको समाचार यसअघि टाकुराले प्रकाशन गरेको थियो ।
इटहरी सरकारले जनताको माग अनुसार कोरोना नियन्त्रण, उद्धार तथा पुर्नस्थापनाका लागि आवश्यक काम गर्न नसकेपछि आफ्नो जिम्मेवारीदेखि बाहिरिन थालेको बुद्धिजीविहरुको तर्क रहेको छ ।
यो पनि _ इटहरीमा बुधबारदेखि पीसीआर परीक्षण नहुने (पत्रसहित)
यो पनि _ कोरोना नियन्त्रणमा ५ करोड खर्च गरेको इटहरीमा निको भएका संक्रमितको डाटा छैन













Discussion about this post