इटहरी : इटहरी उपमहानगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि भनेर झण्डै पाँच करोड रुपैँया खर्च ग¥यो ।
विगत सात महिनायता देखि भएको कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि उपमहानगरपालिकाले विभिन्न शीर्षकमा झण्डै पाँच करोड रुपैँया खर्च गरेको थियो । तर, उपमहानगरपालिका क्षेत्रमा अहिलेसम्म कोभिड १९ बाट संक्रमित भएका मानिसहरुको विवरण भएपनि निको भएका संक्रमितको यकिन डाटा छैन ।
इटहरी अस्पतालका अनुसार सोमबार साँझ थपिएका ९८ जना संक्रमित सहित अहिलेसम्म ८ सय सय ७९ जना संक्रमित रहेका छन् । उनीहरु मध्ये कतिजना संक्रमित निको भएकोबारे न त इटहरी अस्पतालले नै डाटा दिन सकेको छ, न उपमहानगरपालिका कार्यालय नै ।
इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमला भन्छन्, ‘अपडेट निकाल्न नै भ्याईरहेका छैनौँ, म्यानपावर नै कम छ ।’ संक्रमित निको भएकाबारे नयाँ अपडेट निकाल्न करीब एक महिना समय लाग्ने उनको भनाई रहेको थियो ।
उनका अनुसार हाल होम आइसोलेसनमा २८६ संक्रमित रहेका छन् भने इटहरीको रंगशालामा ४५ जना संक्रमित रहेका छन् । तर, तथ्यगत रुपमा निको भएका संक्रमितबारे आँफूहरुले डाटा तयार पार्न नसकेको उनले स्वीकार गरे ।
धमलाका अनुसार हालसम्म इटहरीमा कोरोना भाइरसबाट संक्रमित भएर मृत्यु हुनेको संख्या १० जना रहेका छन् । ‘मुख्य कुरा त हामीले माथि रिपोर्टिङ नै गर्नुपर्दैन, त्यो भएर पनि त्यतातिर प्राथमिकता भएन,’ उनले टाकुरासँग भने, ‘सबै हस्पिटलमा समन्वय गरेर पन्ध्र दिनदेखि एक महिना भित्रमा निको भएका संक्रमितको डाटा तयार हुन्छ ।’
उनले आँफूहरुले माथिल्लो निकायमा निको भएका संक्रमितको बारेमा रिपोर्टिङ गर्न नपर्ने भएकाले पनि डाटा तयार नगरेको प्रतिक्रिया दिए ।
यता इटहरी उपमहानगरपालिकाले कोरोना भाइरसको असरमा परेका नागरिकको उद्धार, राहत, पुनस्र्थापना तथा नियन्त्रण शीर्षकमा ४ करोड ९८ लाख ७० हजार २६९ रुपैँया खर्च गरेको छ ।
नगरपालिका श्रोतले ४ करोड ३६ लाख ५६ हजार २८० रुपैँया बजेट बिनियोजन गरेको थियो भने राहत संकलन श्रेस्ताअनुसार ६२ लाख १३ हजार ९८९ रुपैँया संकलन भएको थियो ।
नेपाल बैँक लिमिटेड इटहरी शाखाको खाता नम्बर ०५९०३००००००००५००४००२ र ०५९०३०००००७००२०००००१ मा सहयोगीहरुले रकम जम्मा गरेको देखिन्छ ।
उपमहानगरपालिकाले गरेको खर्चको स्टटमेन्ट उपलब्ध गराएको भएपनि उक्त स्टेटमेन्टमा कुन शीषर्कमा कति खर्च भएको भन्ने खुलेको छैन ।
क्वारेन्टिन निर्माण, राहत, उद्धार, पुनस्र्थापना तथा महामारी नियन्त्रणमा कति खर्च भयो भन्ने हिसाब उपमहानगरपालिकाले दिन सकेको छैन । विभिन्न शीर्षकमा खर्च भएको देखाएपनि कुन शीर्षकमा कति रकम खर्च भएको भन्नेबारे उपमहानगरपालिकाका सम्बन्धित व्यक्ति चुप रहेका छन् ।
झण्डै पाँच करोड रुपैँया कोरोना राहत, उद्धार तथा नियन्त्रण शीर्षकमा खर्च गरेको उपमहानगरपालिकामा हालसम्म निको भएका संक्रमितको डाटा नहुनु हाँस्यास्पद रहेको स्थानीय गोविन्द सुवेदी बताउँछन् । इटहरी उपमहानगरपालिकाले कोरोनालाई पराजित गर्दै निको हुनेको डाटा भने दिन नसक्नु लज्जास्पद रहेको उनको तर्क छ ।
जिम्मेवारी निकायले नै यसबारे तथ्यगत डाटा दिन नसक्दा सर्वसाधारणमा दिनानुदिन त्रास थपिईरहेको उनको भनाई छ । ‘दिनानुदिन यति संक्रमित थपिए भनेर आउने समाचारले त्रसित बनाउँछ,’ उनले भने, ‘तर अहिलेसम्म कतिजनाले कोरोना जिते भन्नेबारेमा समाचार नै आउँदैनन् ।’
उनले कोरोनाका कारण देखाउँदै जनता त्रसित बनाउँने काम भएको भन्दै आपत्ति जनाए ।
यस बिषयमा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले भने कार्यालयमा डाटा रहेको दाबी गरे ।
‘त्यहाँ अफिसमा आएर डाटा लिनुस् होला, किन नहुनु,’ उनले टाकुरासँग भने, ‘अफिसका कर्मचारीहरुसँग डाटा लिनुहोस्, त्यहाँ हुन्छ ।’ उनले कर्मचारीसँग डाटा रहेको बताएपनि स्वास्थ्य शाखाका कर्मचारीले यकिन डाटा दिन सकिरहेका छैनन् ।
Discussion about this post