विराटनगर — सार्वजनिक स्थानमा युवतीहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा मोरङ प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–९ स्थित महेन्द्रचोकमा मोटरसाइकलमा सवार दुई पुरुषले विद्यालय पोसाकमा सडकमा हिँडिरहेका दुई युवतीलाई अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।
भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी थालेको थियो । अनुसन्धानका क्रममा प्रहरीले विराटनगर महानगरपालिका–९ का ३५ वर्षीय महेशकुमार मण्डल र बारा परवानीपुर गाउँपालिका–९ घर भई हाल विराटनगर बस्दै आएका ३३ वर्षीय अखिलेशकुमार प्रसादलाई विराटनगरबाट पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक स्थानमा हुने यस्ता गतिविधिमाथि निगरानी बढाउँदै कानुनविपरीत कार्य गर्ने व्यक्तिमाथि आवश्यक कारबाही गरिने जनाएको छ ।












Discussion about this post