मोरङ : मोरङको गछिया खोलामा एक महिलाको शव फेला परेको छ । सुन्दरहरैँचा–७ की २४ वर्षीया छेविनी ऋषिदेव अर्धनग्न अवस्थामा घरनजिकको खोलामा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
खोलाको पानीभित्र शरीरको कम्मरमुनिको भागको कुनै पनि कपडा नभएको अवस्थामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
खोलाको बीचको भंगालोमा घोप्टो परेर अड्किरहेको अवस्थामा अर्धनग्न शव भेटिएको हो ।
घटनालाई शंकास्पद मानेर प्रहरीले छेविनीका श्रीमान २६ वर्षीय मन्जे ऋषिदेवलाई नियन्त्रणमा लिएको छ । महिला मृत फेला पर्नुअघि आइतबार बेलुका घर झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि घटनाको वास्तविकता पत्ता लगाउन मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको हो ।
घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले शवलाई खोलाबाट बाहिर निकालेर पोस्टमार्टमका लागि बीपी प्रतिष्ठान धरान पठाएको छ ।
Discussion about this post