इटहरी : इटहरीका प्रतिष्ठित व्यक्ति बीरबहादुर लिम्बूको निधन भएको छ । बुधबार (आज) दिउँसो उनको ७२ वर्षको उमेरमा निधन भएको हो ।
लिम्बूको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका छोरा अजय लिम्बूका अनुसार दिउँसो १ बजे हृदयघात भएपछि उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा लगिएको थियो ।
उपचारकै क्रममा उनको निधन भएको अजयले पुष्टि गरे ।
लिम्बू इटहरीका प्रतिष्ठित व्यक्ति हुन् । इटहरी २ निवासी उनी नेकपा एमालेका प्रभावशाली नेतासमेत रहेका थिए ।
गत शनिबार भएको इटहरी खानेपानीको निर्वाचनमा इटहरी २ बाट सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका लिम्बू इटहरी २० तरहरास्थित शान्ति जनकल्याण सहकारी संस्थाका अध्यक्षसमेत थिए ।
अघिल्लो वर्ष भएको सहकारीको निर्वाचनमा उनी विजयी भएका थिए ।
सहकारीका उपाध्यक्ष चिन्तामणि सापकोटाका अनुसार लिम्बू शालीन र प्रभावशाली थिए । उनको व्यक्तित्व कुशल रहेको र आफूहरूले अप्रत्याशित रूपमा गुमाउनुपर्दा दुःखी भएको सापकोटाले बताए ।
‘उहाँ असल र सरल हुनुहुन्थ्यो,’ उनले भने, ‘समाजकै प्रतिष्ठित व्यक्तिलाई गुमाउनुपर्दा हामीलाई ठूलो क्षति भएको छ ।’
Discussion about this post