धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका १० आहालेस्थित चिराङ चोकका झगेन्द्र राईको परिवार शोकमा डुबेको छ । गाउँमा दसैं मनाउन आएका झगेन्द्र सधैंका लागि बिदा भए ।
श्रीमानको मृत्युको पीडा सहन नसक्दा रुँदारुँदै उनकी श्रीमती अनुले पनि संसार छोडिन् । दसैं बिदा हुन नपाउँदै एकपछि अर्को परिवारका सदस्यलाई सधैंका लागि बिदा गर्नुपर्दा परिवारमा बज्रपात परेको छ ।
धरान उपमहानगरपालिका ११ मंगलबारेमा परिवारसहित बस्दै आएका ४३ वर्षीय झगेन्द्र गत मंगलबार दसैंको टीका लगाउन मोटरसाइकलमा छोरालाई साथमा लिएर साँगुरीगढीको आहालेस्थित गाउँ गएका थिए । नेपाली कांग्रेस साँगुरीगढी १० का वडा सभापतिसमेत रहेका झगेन्द्र सोही दिन साँझबाट बेपत्ता भए ।
उनको मोटरसाइकल धरान २० स्थित धरान–आहाले सडक खण्डमा पर्ने खैरेनी खोलामा भेटियो । खोजी गर्ने क्रममा बुधबार उनको शव सडकबाट झन्डै एक किलोमिटर तल खोलामा फेला पर्यो । धरान प्रहरीको समन्वयमा उनको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो ।
श्रीमानको मृत्युको खबरले उनकी श्रीमती अनु छाँगाबाट खसेजस्तै भइन् । परिवारमा बज्रपात पर्यो । श्रीमान गुमाउँदाको पीडाले विक्षिप्त बनेकी उनी रुँदारुँदै बिहीबार बिहान बेहोस भइन् । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भयो ।
पोस्टमार्टमपछि झगेन्द्रको शव दाहसंस्कारका लागि लैजाने तयारी गर्दै गर्दा उनकी श्रीमती अनुको पनि मृत्यु भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र रुम्दालीले बताए । ‘श्रीमानको मृत्युको खबरले उहाँ निकै विक्षिप्त हुनु भएको थियो, रुदारुँदै बिहान बेहोस भएर अस्पताल लैजाने क्रममा बाटैमा बित्नुभएछ,’ रुम्दालीले भने, ‘सारै अनौठो र पीडादायी घटना भयो ।’
बिहीबार दिउँसो धरानको हरियाली सामुदायिक वन क्षेत्रमा श्रीमान–श्रीमती दुवैको एकैसाथ अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राईलगायत नेताले पार्टीको झन्डा ओढाएर उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । राई दम्पतीका एक छोरा र एक छोरी छन् ।
रबिन कट्टेलले लेखेको यो समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।













Discussion about this post