इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १४ मा नेकपा एमालेले टिकट नपत्याएपछि स्वतन्त्र (बाघी) उम्मेदवारले प्यानलै जितेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय इटहरीले दिएको जानकारी अनुसार इटहरी १४ मा हाँस चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारको प्यानलै जितेको हो ।
स्वतन्त्र उम्मेदवार रमेशप्रसाद चौधरीले ८६७ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका दुखीलाल चौधरीले ६३४ मत प्राप्त गरे ।
यस्तै, सदस्यहरूमा पनि चौधरीको प्यानलै निर्वाचित भएका हुन् ।
महिला सदस्यमा रुकमणीदेवी चौधरी, दलित महिला सदस्यमा डोमनीदेवी पासवान, खुल्ला सदस्यमा उसमान मियाँ र जमिला मियानी निर्वाचित भएका छन् ।
यसअघि ०७४ मा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका चौधरीलाई यसपटक एमालेले टिकट पत्याएको थिएन । तर, जनताले उनैलाई रोजेपछि अहिले नाराबाजीसहित विजय जुलुस गरिएको छ ।
पार्टीले जनताको अभिमतको कदर नगरेको उनले बताए ।
‘पार्टीले जनमतको कदर गर्नुपर्छ भन्ने कुरामा बुझ्नुपर्छ जस्तोलाग्छ,’उनले निर्वाचनमा विजयी भएपछि टाकुरासँगको कुराकानीमा भने, ‘जनताले अनुभूत गर्नेगरी वडाका जनतालाई सक्षम बनाउनेमा मेरो महत्वपूर्ण भूमिका हुनेछ ।’














Discussion about this post