इटहरी : पृथ्वीनारायण शाह र उनका बुवा नरभूपाल शाहका राजनीतिक सल्लाहकार बिसे नगर्चीको विषयमा खोज, अनुसन्धान गरी लेखक दीपेन्द्रराज तिम्सिनाले ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ पुस्तक प्रकाशित गरेका छन् ।
विभिन्न समयमा इतिहासकारले लेखेका ऐतिहासिक दस्ताबेजमा पनि बिसेले नुवाकोट दुई पटक आक्रमण गर्दा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई उचित समयमा सही सल्लाह दिएर युद्ध जितेको इतिहास छ ।
एउटा सल्लाहकार उचित भयो भने राज्य बनाउन र युद्ध नै जित्न परे पनि सजिलै सकिन्छ । यही उदाहरण नेपालको इतिहासमा पाइन्छ । यस्तो उदाहरणीय व्यक्ति थिए, बिसे नगर्ची । पुस्तकको प्रकाशक लीला निरौला तिम्सिना रहेका छन् । १५६ पेज रहेको पुस्तकमा ४९ वटा उपशीर्षकमा इतिहास कोट्याउने प्रयास गरिएको छ ।
मोरङको पथरी शनिश्चरे १ निवासी खोजकर्ता लेखक तिम्सिनाले बिसे नगर्चीको जन्म स्थल गोरखा पुगेर गहिरो अध्ययनसहित उक्त पुस्तक लेखेका हुन् । नेपालका पुराना इतिहासकारसँगको सोधखोज गरी किताब लेखिएको उनले बताए ।
पुस्तकमा एउटा सहि सल्लाहकार भयो भने राज्य बनाउन र युद्ध नै जित्न परे पनि सजिलै सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ ।
राज्य एकिकरणमा उचित सल्लाह दिने नगर्चीलाई राज्यले कस्तो सम्मान दियो, उनको परिवार कहाँ कसरी बसिरहेका छन् ? यो खोज अनुसन्धानको विषय भएकाले पुस्तक लेखिएको उनले सुनाए ।
तिम्सिनाले लेखेको यो १२ औँ खोजमुलक कृति हो ।
यसअघि तिम्सिनाले टेलिफोन डायरी २०६८, मोरङको सामुदायिक वन एक चिनारी २०६९, मोरङको क्षेत्र नं. २ एक चिनारी २०७०, पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण २०७८, धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म २०७८, इतिहासमा पथरी शनिश्चरे २०७८, मोरङका जनप्रतिनिधि संगालो २०७९, माइखोलादेखि पुनर्वाससम्म २०८० र तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म २०८० लगायतका दर्जन पुस्तकहरू प्रकाशित छन् ।














Discussion about this post