विराटनगर : मोरङमा जारी निषेधाज्ञा र कर्फ्युका कारण पेट्रोल पम्पहरू बन्द हुँदा पेट्रोलियम पदार्थको आपूर्ति संकट चुलिएको छ।
पम्प नखुल्दा उपभोक्ताहरू प्रतिलिटर १५८ रुपैयाँ पर्ने पेट्रोल बोतलमा २५० रुपैयाँसम्म तिरेर खरिद गर्न बाध्य भएको गुनासो गर्दै आएका छन्।
इन्धन अभावले केवल उपभोक्ता मात्र नभई भन्सारको गतिविधि पनि प्रभावित भएको छ।
विराटनगर भन्सार कार्यालयका अनुसार भारततर्फबाट नेपाल प्रवेशका लागि ९ सयभन्दा बढी मालवाहक सवारी साधन सीमा नाकामा रोकिएका छन्।
तीमध्ये ठूलो संख्यामा पेट्रोलियम पदार्थ (विशेषगरी एलपी ग्यास) बोकेका ट्यांकरहरू रहेका छन्। भन्सार प्रमुख उमेश श्रेष्ठका अनुसार अत्यावश्यक तथा छिटो बिग्रने वस्तुहरूको जाँचपास प्राथमिकतामा गरिएको छ।
तर आन्दोलनका क्रममा भन्सार परिसरमा आगजनी र बैंकमा लुटपाटको प्रयास भएपछि व्यवसायीहरू त्रासमा परेका छन्।
सुरक्षा सुनिश्चित नभएको भन्दै उनीहरू सामानको प्रक्रिया अगाडि बढाउन हिचकिचाइरहेका छन्, जसले गर्दा आपूर्ति सहज हुन सकेको छैन।
विशेषज्ञहरूका अनुसार, कालोबजारी, आपूर्ति अवरोध र व्यवसायीहरूको अविश्वास मिलेर विराटनगरमा आर्थिक असुरक्षा र मूल्यवृद्धिको नयाँ संकट देखिएको छ।














Discussion about this post