इटहरी : सुनसरीको इनरुवा नगरपालिका–६ भोटेपुलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
बुधवार साँझ ५ बजेतिर धरानबाट राजविराजतर्फ जाँदै गरेको म.प्र. ०१–००१ज–०१२६ नम्बरको म्याजिकबाट झर्दै गर्दा इनरुवा–६ मधेशा निवासी ५५ वर्षीय टंक विश्वकर्मा घाइते भएका थिए।
उनलाई घटनास्थलमा पुगेको प्रहरी टोलीले उद्धार गरी प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको थियो ।
थप उपचारका क्रममा आज (बिहीवार) बिहान ६ः५० बजे विराटनगरस्थित न्यूरो अस्पतालमा विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
मृतकको शव अस्पतालमै राखिएको छ।
दुर्घटनामा संलग्न म्याजिक चालक सप्तरी राजविराज नगरपालिका–२ का ३५ वर्षीय मोहम्मद मंसुरीलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post