इटहरी : इटहरीमा आयोजित “साहित्य, सङ्गीत र साधना उत्सव–२०८३” अन्तर्गत लेखक केशव दाहालको नवीनतम उपन्यास ‘इथा’माथि साहित्यिक विमर्श तथा विमोचन कार्यक्रम सम्पन्न भएको छ।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा साहित्यप्रेमी, लेखक, पाठक, बुद्धिजीवी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
समकालीन नेपाली आख्यानमा आफ्नै विशिष्ट शैली र वैचारिक गहिराइका कारण परिचित दाहालको नयाँ कृति ‘इथा’लाई वर्तमान नेपाली साहित्यमा प्रयोगशील तथा विचारोत्तेजक सिर्जनाका रूपमा चर्चा गरिएको छ।
कार्यक्रममा वक्ताहरूले उपन्यासले समाज, समय, मानवीय सम्बन्ध र अस्तित्वका जटिल प्रश्नलाई कलात्मक ढंगले प्रस्तुत गरेको बताएका थिए।
विमर्शका क्रममा साहित्यकार तथा समीक्षकहरूले ‘इथा’ कथा नभई पाठकलाई सोच्न बाध्य बनाउने बौद्धिक आख्यान भएको टिप्पणी गरेका थिए। उनीहरूले नेपाली साहित्यमा नयाँ पुस्ताको संवेदना, मनोविज्ञान र सामाजिक यथार्थलाई उपन्यासले प्रभावकारी रूपमा अभिव्यक्त गरेको धारणा राखे।
कार्यक्रममा लेखक दाहालले लेखन यात्रा, उपन्यासको सिर्जना प्रक्रिया तथा यसको वैचारिक पृष्ठभूमिबारे आफ्ना अनुभव साझा गरेका थिए। उनले साहित्य समाजको ऐना मात्र नभई चेतना जगाउने माध्यम पनि भएको उल्लेख गरे।
साहित्य, सङ्गीत र साधनालाई एकै थलोमा जोड्ने उद्देश्यसहित आयोजना गरिएको उत्सवमा साहित्यिक बहससँगै सांगीतिक प्रस्तुति र सर्जक–पाठक अन्तरसंवादसमेत गरिएको थियो।
संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसीका अनुसार साहित्य, सङ्गीत र साधना उत्सव कार्यक्रमलाई श्रृङ्खलाबद्ध रूपमा अगाडि लैजाने बताए। जसले इटहरी क्षेत्रमा साहित्यिक संस्कृतिलाई थप जीवन्त बनाउने विश्वास लिइएको केसीको भनाइ छ।













Discussion about this post