धनकुटा : दोहोरो नागरिकता बनाएर दुवै नागरिकताका आधारमा राहदानीसमेत लिएको आरोपमा धनकुटाका एक जना प्रहरी नियन्त्रणमा परेका छन्।
जिल्ला प्रशासन कार्यालय धनकुटाले महालक्ष्मी नगरपालिका–४ (साविक मुर्तिढुङ्गा–८) निवासी ४३ वर्षीय दोर्णराज काफ्लेलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार काफ्लेविरुद्ध झुटा विवरण पेस गरी वास्तविक जन्ममिति लुकाएर दोहोरो नागरिकता बनाएको तथा ती दुवै नागरिकताका आधारमा राहदानी लिएको भन्ने उजुरी परेको थियो।
उजुरीपछि जिल्ला प्रशासन कार्यालयले आवश्यक प्रक्रिया पूरा गर्दै उनलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनासम्बन्धी कागजात संकलन तथा प्रमाण परीक्षणको काम भइरहेको जनाएको छ।
अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।





















Discussion about this post