इटहरी : सुनसरीमा प्रहरीले छुट्टाछुट्टै स्थानमा गरेको चेकजाँच तथा सूचनाका आधारमा ६ जनालाई पक्राउ गरी १२.७३ ग्राम ब्राउनसुगर बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी, इनरुवा र दुहबीमा गरिएको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
इनरुवा नगरपालिका–४ बसचोकमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३८ वर्षीय खिलाराज राई र वडा नं. ९ का ३४ वर्षीय विनोद लिम्बूलाई पक्राउ गरेको छ। पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंका लागेर खानतलासी गर्दा ४.११ ग्राम ब्राउनसुगर पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, दुहबी नगरपालिका–८ कदमगाछीमा ब्राउनसुगर कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय सन्दीप कार्की र २७ वर्षीय अनिष कार्की छन्।
उनीहरूको साथबाट क्रमशः १ ग्राम र १.५० ग्राम गरी २.५० ग्राम ब्राउनसुगर देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी, इनरुवा नगरपालिका–४ बसचोकमै प्रहरीले स्कुटरमा सवार दुई युवालाई लागूऔषधसहित पक्राउ गरेको छ।
प्र.१–०२–०४६ प २२६५ नम्बरको स्कुटरमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका इटहरी उपमहानगरपालिका–१० का १८ वर्षीय जयराम चौधरी र सोही स्थानका १८ वर्षीय अनुराग चौधरीलाई चेकजाँचका क्रममा पक्राउ गरिएको हो।
उनीहरूको साथबाट ३.१२ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूलाई स्कुटरसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ।
प्रहरीका अनुसार तीनवटै घटनामा बरामद पदार्थ परीक्षणका लागि पठाउने तथा पक्राउ परेकामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।












Discussion about this post