मोरङ : मिक्लाजुङको सामुदायिक वनमा झाडीभित्र लुकाएर राखिएका तीन थान भरुवा बन्दुकसहित चोरी–सिकारमा प्रयोग हुने सामग्री बरामद भएको छ।
मिक्लाजुङ गाउँपालिका–६ लालमारीस्थित मयुर सामुदायिक वनमा आइतबार साँझ प्रहरीले गस्तीका क्रममा शंकास्पद अवस्थामा एउटा बोरा फेला पारेको थियो।
बोराभित्र तीन थान भरुवा बन्दुक, एउटा फलामको नाल, १९ ग्राम २४० मिलिग्राम बारुद, ९८ वटा फलामका बेरिङ र १३ वटा फलामका टुक्रा फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।
चोरी–सिकार हुने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले वन क्षेत्रमा गस्ती गरेको थियो। त्यसक्रममा झाडीमा लुकाएर राखिएको बोरा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद सामग्री चोरी–सिकारमा संलग्न व्यक्तिले प्रयोग गर्न लुकाएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। घटनामा संलग्न व्यक्तिको पहिचान भने खुलेको छैन।
बरामद हतियार तथा अन्य सामग्री इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ। हतियार कसले र कुन उद्देश्यले लुकाएको थियो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको डीएसपी मिश्रले बताए।












Discussion about this post