इटहरी : गत २३ गते जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गर्दै जिल्लामा चाडबार्डमा भेला नहुन र भीडभाडका कुनै पनि कार्यक्रम नगर्न भन्दै अपिल गर्यो ।
तिहारको नाममा हुने बिकृति र देउसीभैलोको नाममा हुने ठूला कार्यक्रमले कोभिड १९ को जोखीम हुने भन्दै प्रशासनले उर्दी जारी गर्यो ।
सोही अनुसार अहिले स्थानीय प्रशासन र प्रहरीहरु पनि देउसीभैलो खेल्ने तथा भीडभाड हुने स्थानमा त्यसलाई निरुत्साहन गर्न सक्रिय बनिरहेको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले इटहरी क्षेत्रमा देउसीभैलो खेलेको खण्डमा नियन्त्रणमा लिने प्रतिक्रिया दिएका छन् ।
‘सुनसरी प्रशासनले पनि यसअगाडि नै जानकारी गराईसकेको छ,’ केसीले फोन सम्पर्कमा टाकुरासँग भने, ‘अहिलेसम्म त देउसीभैलोका कार्यक्रमहरु भएका छैनन्, म आफैँ पनि गस्तीमा छु ।’
उनले आँफू स्वयम् पनि गस्तीमा रहेको र देउसीभैलो खेल्ने तथा भीडभाड गरेर अन्य कार्यक्रम गरेको पाईएमा सुरुमा सम्झाई बुझाई गर्ने, अटेर गरेमा नियन्त्रणमा लिएर कारबाही गर्ने प्रतिक्रिया दिए ।
उनले भने, ‘हामीले सुरुमा त सम्झाई, बुझाई नै गर्ने हो, देउसीभैलो खेलेको अवस्थामा र हामीले भेटेको अवस्थामा सम्झाउँदा पनि अटेर गरेमा नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाईनेछ ।’
इटहरी क्षेत्रमा अहिलेसम्म त्यस्तो कुनै पनि प्रकारको नकारात्मक घटना नभएको भन्दै स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर चाडवार्ड मनाउन समेत उनले अपिल गरेका छन् ।
पछिल्लो समय चाडवार्डको बहाना देखाउँदै जुवा, तास समेत खेल्ने मानिसहरु सक्रिय रहेकाले आँफूहरुलाई गस्तीलाई तीब्रता दिएको उनको भनाई रहेको थियो ।














Discussion about this post