इटहरी : इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस परिसरमा त्रिभुवन विश्वविद्यालय अन्तरगत लिइने स्नातक तहका कुनै पनि परीक्षा एक वर्ष लिन नपाइने भएको छ ।
०७६ भदौ ३१ गते भएको स्नातक तह प्रथम वर्षको शिक्षा विषयक ४१७ का परीक्षार्थी २१८०१३८ नं. र २१८०४२० सिम्बोल नं. भएका उत्तरपुस्तिकाहरु कारबाहीको लागि सिफारिस गरिएको र सोही दिन सञ्चालन गरिएको बिए प्रथम वर्षको निष्काशन प्याकेटमा संलग्न गरी पठाएको सम्बन्धमा त्रिविले एक वर्षसम्म कुनै पनि परीक्षा लिन नपाइने भन्दै कारबाही गरेको हो ।
मिति २०७७ असोज १३ गते बसेको त्रिविको बैठकले क्याम्पस प्रशासनलाई जानकारी गराउँदै भनेको छ – ‘आगामी एकवर्ष सम्म त्यस क्याम्पसमा परीक्षा केन्द्र नराख्ने र केन्द्राध्यक्षलाई पनि सोही अवधिसम्म परीक्षा नियन्त्रण कार्यालयद्धारा लिईने परीक्षामा कुनै जिम्मेवारी नदिने निर्णय गरिएको जानकारी गराइन्छ ।’
परीक्षा नियन्त्रक पुष्पराज जोशीद्धारा जारी सूचनामा योजना निर्देशनालय कीर्तिपूर, मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यालय बल्खु, शिक्षाशास्त्र संकाय डीनको कार्यालय बल्खुलाई बोधार्थ बनाईएको छ ।
जनता बहुमुखी क्याम्पसका तत्कालिन केन्द्राध्यक्षको लापरबाहीका कारण कारबाहीका लागि सिफारिस गरिएका उत्तरपुस्तिका त्रिविमा पठाएकाले क्याम्पसलाई कारबाही गरिएको बुझिएको छ ।
विद्यार्थी संगठनको २४ घण्टे चेतावनी
यसैबीच क्याम्पसलाई कारबाही गरिएको र परीक्षा अन्यत्रै सारेको बिषयलाई लिएर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) क्याम्पस कमिटिले एक विज्ञप्ती जारी गर्दै आँफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संयोजक उज्वल सिग्देल र सह–संयोजक अर्जुन पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ – ‘विगतका वर्षहरूमा क्याम्पस परिसरमै हुने स्नातक तहका परीक्षाहरू हाल इटहरीकै विश्व आदर्श कलेजमा सारिएको भन्ने जानकारी भएपछि २४ घण्टाभित्र सत्यतथ्य सार्वजनिक गरी दोषी को हो र क्याम्पस किन कारबाहीमा पर्यो ?’

क्याम्पस प्रशासनबाट आँफूहरुलाई कुनै पनि लिखित जानकारी नआएकाले आँफूहरुको ध्यानाकर्षण भएको अनेरास्ववियूले जनाएको छ।
मिति २०७७।०८।२३ गते जनता बहुमुखी क्याम्पसको फेसबुक मार्फत स्नातक तह चौथो वर्षको परीक्षा इटहरीमा अवस्थित विश्व आदर्श कलेजमा संचालन हुने सूचना सार्वजनिक भएपछि अनेरास्ववियूले विज्ञप्ती जारी गरेर २४ घण्टा भित्र सत्य तथ्य बाहिर ल्याउन कलेज प्रशासनलाई माग गरेको हो ।
२४ घण्टा भित्र क्याम्पस प्रशासनले दोषी उपर कारबाही नगरे आँफूहरु कडा आन्दोलनमा उत्रने विज्ञप्तीमा उल्लेख गरिएको छ ।














Discussion about this post