धरान : सुनसरीका अग्रज पत्रकार गिरिराज आचार्यको नाममा स्थापना गरिएको सृजनशील पत्रकारिता पुरस्कारबाट धरानका लक्ष्मण थापा सम्मानित भएका छन् ।
शनिबार (आज) एक कार्यक्रमबीच फोटो पत्रकार थापालाई नगदसहित सम्मान गरिएको हो । धरानस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा प्रमुख अतिथि कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले उनलाई नगद बीस हजारसहित सम्मान गरे ।
नेपाल प्रेस युनियन धरान नगरसमिति र नेपाली कांग्रेस धरान नगर समितिले प्रदान गर्दै आएको उक्त पुरस्कार धरानका पूर्व मेयर तिलक राईले स्थापना गरेका हुन् ।
उपमहानगरपालिकाबाट मेयरले पाउने तलब, भत्ता, सुविधाको रकम आफूले नलिने तर सामाजिक कार्यमा खर्च गरिने घोषणा गरेका राईले सोही रकम मध्येबाट दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकाले हरेक वर्ष सम्मान गरिदैँ आएको छ ।
नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव, नेपाल प्रेस युनियन सुनसरीका संस्थापक, सुनसरीका अग्रज पत्रकार गिरिराज आचार्यको सम्मानमा पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना गरिएको हो ।
कार्यक्रममा उनै आचार्यसहित कार्यक्रममा प्रमुख अतिथि थापा, पूर्व मेयर राई, अग्रज पत्रकार हर्ष सुब्बा, प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, प्रेस युनियन धरान नगर समितिका संयोजक मात्रिकाप्रसाद नेपाल लगायतले थापालाई दोसल्ला, सम्मान पत्र र नगदले सम्मान गरेका थिए ।














Discussion about this post