झापा : गौरादह जेसीजले एक दशक भित्रका गतिविधिहरू समेटिएको स्मारिका ‘अङ्कुरण’ विमोचन गरेको छ । साथै, सोही कार्यक्रमको अवसर पारेर जेसीज साँझ कार्यक्रमसमेत सम्पन्न गरिएको छ ।
जेसीज अध्यक्ष खड्ग थापाका अनुसार गौरादह ३ धोविनियास्थित एक कार्यक्रमबीच स्मारिका विमोचन गर्दै तेस्रो जेसीज साँझ सम्पन्न गरिएको हो । थापाका अनुसार गौरादह जेसीज एक दशक पूरा गरेको अवसर पारेर स्मारिका प्रकाशन गरिएको थियो ।
सोही स्मारिका विचोनसँगै जेसीज साँझमा साहित्यमय बनाइएको थापाले बताए ।
अङ्कुरणको विमोचन नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रविन पोख्रेल र गौरादह नगर प्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथि छत्रपति सुवेदीले संयुक्त रूपमा गरे ।
‘अङ्कुरण’ स्मारिकाको समीक्षा गर्दै पुस्तक प्रकाशन समितिका सल्लाहकार संयोजक बद्री कार्कीले गौरादह जेसीजको पछिल्लो दश वर्षको समीक्षा गरेका थिए ।
कार्यक्रममा कवि भरत बर्बरिक, चर्चित गजलकार प्रदीप रोदन, रीता पोख्रेल, खगेन्द्र न्यौपाने र मनिसा कठेतले गजल तथा कविताहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्थानीयबासी, जनप्रतिनिधि, बुद्धिजीवी, व्यवसायी, शिक्षक, राजनीतिज्ञ, जेसीजका विभिन्न शाखा प्रतिनिधिहरू, विद्यार्थीहरू लगायतको उल्लेख्य उपस्थिति थियो ।
Discussion about this post