इटहरी : वरिपरी स्थानीयबासीको भीड लागिरहेको छ । टिनको छाप्रोमा रुवाबासी चलिरहेको छ । स्थानीयबासी पीडित परिवारलाई शान्तवना दिइरहेका छन् । तर, शान्तवनाले रामसरी चौधरीको मन झनै दुखिरहेको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका ५ खोक्सीस्थित चौधरी परिवारमा मंगलबार बज्रपात प¥यो ।
बिहान करिब ९ बजेतिर पानी पर्नुअघि रामसरीकी जेठी बुहारी ३० वर्षीया फूला, माइली बुहारी २३ वर्षीय स्वस्तिका, कान्छी बुहारी २३ वर्षीया प्रेमकला र देउरानी ६० वर्षीया असरादेवी चौधरी स्थानीय बूढीखोलामा माछा मार्न र दाउरा टिप्न घरबाट गए ।
उनीहरू घरबाट बूढीखोलामा गएको केही समयमै गाउँमा हो–हल्ला मच्चियो ।
‘बूढीखोलाले मान्छे बगायो,’ ‘बूढीखोलाले माछा मार्न गएका चारैजनालाई एकैपटक लग्यो,’ रामसरीले सुन्नेबित्तिकै भक्कानिइन् र विक्षिप्त बनिन् । उनी हाल भावविह्ल अवस्थामा छिन् ।
मजदूरी गरेर छोराहरूले दुःखसुख घरमा जीवीकोपार्जन गर्दै आएका थिए । तर, तीनै बुहारीसहित देउरानीलाई बाढीले बगाएपछि उनी छाँगाबाट खसेजस्तै भइन् ।
रामसरीकी कान्छी बुहारी प्रेमकलाको इटहरी ४ स्थित गैरीगाउँमा मंगलबार दिउँसो १२ बजेतिर शव फेला परेको छ । माइली बुहारी स्वस्तिका भने पौडी खेलेर बाँचेकी छन् भने जेठी बुहारी फूला र देउरानी असरादेवी भने बाढीको भेलसँगै बेपत्ता छन् ।
उनीहरूको हाल खोजी भइरहेको प्रहरीको भनाइ छ ।
निरन्तर आँसुमा डुबिरहेकी रामसरीको आवाज कारुणिक सुनिदैँछन् – ‘यो पानी पनि यिनीहरूकै ज्यान लिन आएको रहेछ । के दिन आइलाग्यो नि !’
बाढीबाट बाँचेकी स्वस्तिकाका अनुसार पानी परेसँगै माछा मार्न र दाउरा टिप्न जाँदा अचानक बाढी आएको थियो ।
‘हरैँचापट्टि बग्ने खोलामा बाढी आएको थिएन, अलिअलि मात्रै पानी थियो,’ रोदनमिश्रित रहेकी उनले थपिन्, ‘इटहरीपट्टि बग्ने खोलामा पानी थियो । त्यहाँ बीचको भागमा गएर हामी दाउरा टिप्ने र माछा मारिरहेका थियौँ । एक्कासि उभोबाट बाढी आयो र बगायो ।’
उनले अचानक आएको बाढीले हरैँचा क्षेत्रमासमेत प्रभावित बन्यो र बीचमा रहेका चारैजनालाई बगाएको थियो । आफूले पौडी खेलेर ज्यान जोगिएपनि देउरानीको मृत्यु भएको, जेठानी र काकी सासुलाई भने बाढीले बगाएको उनले सुनाइन् ।
मृतक प्रेमकलाकी फुपू सासु राजकुमारी चौधरीका अनुसार पाँच वर्षअघि प्रेमकला र सन्दीप चौधरीबीच विवाह भएको थियो । सन्दीप वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । उनीहरूको चार वर्षका एक छोरा छन् ।
‘भर्खरै स्कुल लगाएको थियो । घर खर्च चलाउनका निम्ति विदेश गएको अस्ति वैशाखमा एक वर्षमात्रै भयो,’ राजकुमारीले विक्षिप्त भावमा टाकुरा न्यूजसँग भनिन्, ‘माइती घर हरैँचा हो । राम्ररी परिवार चलेकै थियो, के दशा आइलाग्यो ।’
उनका अनुसार उक्त परिवारका तीन छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने तीनै छोराहरू वैदेशिक रोजगारीमा थिए । जेठा छोरा राजन केही वर्षअघि वैदेशिक रोजगारीबाट आएर मजदूरी गरिरहेका छन् । माइला छोरा दीपेन मलेसियामा छन् भने कान्छा सन्दीप साउदी छन् ।
‘जेठो मिस्त्री हो । उसले आफैँ घर बनाएर बसेको छ । माइला र कान्छा छोराबुहारी एकैघरमा थिए, मिलेको परिवार थियो,’ राजकुमारीले थपिन्, ‘दाजु (मृतकका ससुरा)को अघिल्लो फागुनमा जन्डिसका कारण खस्नुभयो । अहिले एकैपटक घरका सबै बुहारीलाई बाढीले बगायो । पानी पनि सानो आएन, यिनीहरूलाई नै लिन आएको रहेछ ।’
राजकुमारीका अनुसार राजन र दीपेनको एकै लगनमा विवाह भएको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार मृतक प्रेमकलाको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । बेपत्ता दुवैजनाको खोजी कार्य भइरहेको कार्कीको भनाइ छ ।
‘माछा मार्ने क्रममा खोक्सी भन्ने ठाउँबाट चारैजनालाई बगाएको रहेछ, जसमध्ये दुईजनाको अझै खोजी भइरहेको छ,’ उनले भने । असावधानीपूर्वक माछा मार्ने र दाउरा बटुल्ने क्रममा उनीहरूलाई बाढीले बगाएको उनले बताए ।
घटनास्थलमा रहेका सुन्दरहरैँचा ५ का वडाध्यक्ष गणेश चौधरीले पीडित परिवारलाई राहत दिलाउनका निम्ति पालिकास्तरीय बैठक बस्ने र निर्णय गर्ने बताए । उनले पीडित परिवारको उद्धार र राहतका निम्ति पहल भइरहेको जनाए ।
‘हामी मेयरसाबसँग छलफल गरेर उद्धार, राहतका निम्ति पहल गरिरहेका छौँ,’ उनले भने ।
भिडियो
यो पनि – इटहरीको बूढीखोलाले मान्छे बगायो, एक युवतीको शव फेला
Discussion about this post