इटहरी : इटहरीमा आगामी चैत्र १ गते हाँस्यव्यङ्ग्य गरी समाजमा मनोरञ्जन गराउने उदेश्यले कमेडीको कार्यक्रम आयोजना गरिने भएको छ ।
नेपाली कथानक चलचित्र महाजात्राको टिमसँग कमेडीको कार्यक्रम आयोजना गरिने पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
चैत्र १ गते साँझ ५ बजेदेखि इटहरी २ मा रहेको इम्पेरियल लाउन्जमा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम हुने कार्यक्रमका निर्देशक विशाल भण्डारीले जानकारी दिए ।
उनका अनुसार दर्शकलाई टिभीमार्फत मनोरञ्जन दिँदै आएको भएपनि यहाँ भने कलाकारहरूले प्रत्यक्ष रूपमै दर्शकलाई मनोरञ्जन दिलाउनेछन् ।
चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यियन’ मिलेर ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम आयोजना गर्न लागिएको भण्डारीले बताए ।
कार्यक्रममा उपस्थित भएका कमेडियनद्वय सुमन कार्की र कैलाश कार्कीले टिभीमा देखिएको भन्दा फरक प्रस्तुति रहने बताए ।
कार्यक्रममा स्थानीयस्तरका समसामयिक विषयहरूको अध्ययन गरी सोहीअनुसारको प्रस्तुति दिइने कलाकार सुमनले बताए । यसैगरी अर्का कलाकार कैलाशले भने आफू पनि पूर्वेली नै भएका कारण यहाँ प्रस्तुति दिन उत्साहित रहेको बताए ।
कार्यक्रममा चलचित्र ‘महाजात्रा’को तर्फबाट वरिष्ठ कलाकार हरिवंश आचार्य, कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत लगायतको सहभागिता रहने छ ।
यसैगरी ‘कमेडी नाइट विथ च्याम्यियन’का तर्फबाट अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलासँगै कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, प्रभात लामा, सन्तोष थापा लगायतको प्रस्तुति रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
इटहरीको प्रस्तुतिअघि बिर्तामोडमा पनि फागुन ३० गते साँझ प्रस्तुति रहेको बताइएको छ ।
Discussion about this post