धरान : साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ले दुई लाख रुपैयाँ राशिको पुरस्कार प्राप्त गरेको छ ।
‘विमल कृति पुरस्कार–२०८०’ बाट साहित्यकार थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ पुरस्कृत हुने भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
विभिन्न स्थानबाट प्राप्त भएका एक सय दुई जना लेखकका विभिन्न विधाका कृतिहरूमध्ये १० वटा श्रेष्ठ कृति चयन गरिएको थियो । जसमध्ये थाम्सुहाङको कृतिले पुरस्कार प्राप्त गरेको विमल गुरुङ स्मृति पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार निर्णायक समितिको सिफारिसअनुसार पुरस्कार घोषणा गरिएको हो ।
शब्दथुमभित्र पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैलीलाई मिहिन रूपमा उतारिएको छ ।
पुरस्कार यही कात्तिक २४ गते आयोजना हुने ३३ औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरूङको ५३ औं जन्मजयन्तीको अवसरमा कृतिकार प्रकाश थाम्सुहाङलाई नगद दुई लाख रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित अर्पण गरिने आयोजकले जनाएको छ ।
यसैगरी सोही अवसर पारेर कवि विमल गुरूङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान विवेक विवश रेग्मीलाई प्रदान गरिने पुस्तकालयका सदस्य चन्द्र गुरुङले बताए । गुरुङकाअनुसार रेग्मी इटहरीमा बसेर साहित्यसँगै पत्रकारिता क्षेत्रमा सक्रिय तथा सिर्जनशील छन् ।
सोही दिन उत्कृष्ट १० कविताहरू प्रस्तुत हुनेछन् । जसमा प्रथम, द्धितीय र तृतीय हुने कविहरूलाई क्रमशः नगद २१ हजार, १८ हजार र १७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
Discussion about this post