मोरङ : मोरङको सुन्दरहरैँचा–५ तीनपैनीका कृष्णबहादुर शाहीको मृत्युपछि उनका पाँच जना छोरीहरू र मृतककी श्रीमती टीका दशगात्र किरियामा बसेका छन् ।
शाहीको कात्तिक ६ निधन भएको थियो । शाहीका पाँच छोरीहरू छन् । परम्परागत हिन्दु संस्कारअनुसार परिवारका छोरा वा पुरुष सदस्यले मात्र किरिया बस्ने चलन छ । तर, शाहीका पाँचै जना छोरीहरूले मिलेर आफ्ना पितालाई दागबत्ती दिए ।
मृतक शाहीको इच्छाअनुसार नै छोरीहरूले दागबत्ती दिएर काजकिरिया गरेको टीकाले बताइन्।
“बुवाले किरिया गर्ने कोही नखोज्नु आफै गर्नु भन्नुभएको थियो, त्यसैले बुबाको अन्तिम इच्छा पूरा गरिदिएका हौँ, छोरी जेनिसाले भन्नुभयो ।
जेनिसासँगै जस्मीन, कृष्टिना, कसिस र प्रेरणा किरियापुत्रीको रूपमा छन् । गाउँघरमा तिहारको झिलिमिली चलिरहेको बेला उनीहरू स्नेहपूर्वक बुबाको काजकिरिया गरिरहेका छन्। स्थानीयले छोरीहरूलाई स्याबास दिँदै वियोगमा साथ दिइरहेका छन् ।
शाही परिवारको यो निर्णयले समाजमा नयाँ सन्देश प्रवाह गरेको छ । केहीले पितृसत्तात्मक परम्परालाई चुनौती दिँदै छोरीहरूले गरेको कदमलाई स्वागत गरेका छन् ।
–गोरखापत्रको सहयोगमा
Discussion about this post