इटहरी : कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री तथा एमाले सांसद लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नक्कली कागजात बनाएर मानव तस्करीको आरोप लागेपछि अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले अधिकारीलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।
‘उहाँ अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ । अब उहाँलाई काठमाडौँ पठाउन लागेका छौँ,’ एसएसपी दाहालले फोन सम्पर्कमा भने ।
अधिकारीले गत कार्तिक १३ गते जापान भ्रमणको क्रममा नक्कली कागजात लिएका तीन जना नेपालीलाई लगेको आरोप लागेको छ ।
नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको आरोप उनीमाथि लागेको छ ।
टोकियो विमानस्थलबाट डिपोर्ट भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ अधिकारीलाई बुझाएको प्रहरीको बयानमा उल्लेख गरेका छन् ।
डिपोर्ट भएका ३ जना बाहेकका धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार पक्राउ परेका छन्। यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या पूर्वमन्त्रीसहित ७ पुगेको छ।
Discussion about this post